अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशका सबै उद्योग र कलकारखाना कांग्रेसले बेच्यो : दुर्गा प्रसाईं

देशका सबै उद्योग र कलकारखाना कांग्रेसले बेच्यो : दुर्गा प्रसाईं


काठमाडौं – नेकपा एमालेका उद्योग विभाग उपप्रमुख दुर्गा प्रसाईँले देशमा भएका सबै उद्योगधन्दा र कलकारखाना सत्तारुढ नेपाली कांग्रेस नेतृत्वको सरकारले बेचेको आरोप लगाउनुभएको छ ।

मेडिकल व्यवसायी समेत रहेका उपप्रमुख प्रसाईंले कांग्रेसले २०४६ सालपछि अधिकांश समय सरकारको नेतृत्व गरेको र त्यसैबेला मुलुकका सबै उद्योगधन्दा, कलकारखाना बेचिएको बताउनुभएको हो ।

आज काठमाडौँमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले मुलुकका उद्योगधन्दा सबै बेचिएपछि नेपाली युवाहरू रोजगारीको खोजीमा विदेश पलायन हुने अवस्था आएको तर्क समेत गर्नुभयो । प्रसाईंले भन्नुभयो,  ‘२०४६ सालपछि २०६० सालसम्म नेपाली कांग्रेसको अधिकांश समय सत्तारोहण भयो । त्यो सत्तारोहणको पालामा देशमा भएका उद्योगधन्दा, कलकारखाना सबै बेचिए । जब नेपाली कांग्रेसको हातमा राजनीतिक सत्ता गइसकेपछि उद्योगधन्दा, कलकारखाना बेचिएपछि युवाहरूको यो देशमा रोजगारी बन्द भएपछि हाम्रा युवाहरू विदेश पलायन हुन बाध्य भए । हरियो पासपोर्टको खेती मौलायो । डाटाले भन्छ– अहिले दैनिक ३ हजार युवाहरू विदेश जाँदैछन् वैदेशिक रोजगारीका लागि । ती युवाहरुलाई अब स्वदेशमा ल्याउनुपर्छ । हिजो बेचिएका कलकाखाना सुरु गर्नुपर्छ ।’

प्रसाईंले साना तथा ठूला गरेर मुलुकका ५ सय कखकारखाना बेचिएको आँकडा समेत प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयो– ‘गोरखकाली टायर, भृकुटी कागज, बाँसबारी छाला जुत्ता सकियो, यी उद्योग कसको पालामा सकियो ? हाम्रो पार्टी एमालेको पालामा त धरहरा बन्यो । रानीपोखरी बन्यो । दरबार हाइस्कूल बनायौं । एमालेले सरकारमा नेतृत्व गर्दा हजारौं नयाँ सडक बनायो।’

साक्षात्कार कार्यक्रममा बोल्दै प्रसाईले आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो दल बन्ने र बहुमत हाँसिल गरेर सत्तारोहण गर्ने दाबी गर्नुभयो । उहाँले जनताले अब देशको लागि चाहिने पार्टी नै एमाले हो भनेर थाहा पाइसकेको जिकीर समेत गर्नुभयो ।

उहाँले मुलकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारले पनि प्रधानमन्त्रीको रूपमा आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई पर्खिएर बसेको टिप्पणी गर्नुभयो । नेता प्रसाई भन्नुहुन्छ, ‘जनताको प्रिय पार्टी भनेको नै एमाले हो । देशमा भएका उद्योग र कलकारखाना सञ्चालन गर्नुपर्छ र युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्छ भन्ने एमाले जस्तो पार्टी चाहिन्छ ? जनताले अब सबै कुरा बुझिसकेका छन् । त्यसैले अब जनताले एमालेलाई रोज्छन् । किनकी हामीले काम गरेका छौं ।’

उहाँले आफ्नो पार्टीको हालै सम्पन्न भएको १०औं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुम्भमेला भनेको स्मरण गराउँदै आफ्नो पार्टीको महाधिवेशन भव्य रुपमा सफल भएको बताउनुभयो । तर, अहिले माओवादी केन्द्रको महाधिवेशन चाहिं कुम्भमेलाजस्तो भएको प्रसाईंले टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले त तीन दिनमा महाधिवेशन सम्पन्न गर्यौं । हाम्रो महाधिवेशन स्थलमा देशभरिबाट एमालेका १० लाख जनता आए । तर, माओवादीको महाधिवेशनमा कुम्भमेला लागिरहेको छ ।  विचार र राजनीतिको कुरा गर्दा, माओवादीका नेताहरुले जनताको छोराछोरीलाई बुर्जवा शिक्षा भन्ने, अनि आफ्ना छोराछोरी अमेरिका र लण्डन पठाउने पनि गरेको हामीले देख्यौं । बरु, सबैका छोराछोरी एउटै स्कूलमा पढ्ने अवस्था सिर्जना गर्नुपर्छ ।’

आफ्नो पार्टीले देशको विकास र समृद्धिको लागि नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको पनि प्रसाईंको भनाइ छ । उहाँले शिक्षा, स्वास्थ्य र रोजगारी तीन वटा कुरामा पार्टीले विशेष ध्यान दिएको पनि बताउनुभयो ।

हालै कांग्रेस महामन्त्री गगनकुमार थापालाई लिएर चिकित्सा शिक्षा सुधारको अभियान चलाएका प्राडा गोविन्द केसीको नेतृत्वले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको र ९ बुँदे समझदारी भएकोप्रति उहाँले प्रश्न उठाउनुभयो । उहाँले भन्नुभयो– ‘चिकित्सा शिक्षा पढाउछु भन्ने अभिभावकको मुख सुक्छ नि, मेरो त एउटै हो, त्यही एउटा बन्द हुन्छ । गोविन्द केसीको नारा पूरा गर्न प्रधानमन्त्रीले सम्झौता गरिसक्नुभएको छ । अब देशका २० वर्ष पुगेका सबै युवा विदेश जान्छन् । नेपालको पैसा सबै विदेश जान्छ ।’