ताप्लेजुङ – गोठ सार्ने क्रममा हिमपात भएर हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ पापुङ सिम्बुकका बाबुछोराको उद्धारका लागि गएको हेलिकोप्टर रिक्तै फर्किएको छ ।
अल्टिच्युट एयरको हेलिकोप्टर पापुङको गाउँमा बसेर दुई पटक प्रयास गर्दा पनि हिउँमा फसेका बाबुछोरा बसेको स्थानको भेउ नपाएपछि सुकेटार विमानस्थल फर्किएको हो । उक्त क्षेत्रको मौसम बिग्रिएकाले आइतबार पुनः प्रयास गर्ने गरी सुकेटारमै राखिने मिक्वाखोला गाउँपालिका-५ पापुङका वडाध्यक्ष डण्डु शेर्पाले जानकारी दिनुभयो ।
जिल्लाको मिक्वाखोला गाउँपालिका ५ पापुङ सिम्बुकका अन्दाजी ५० वर्षीय लाक्पाटाँसी शेर्पा र उहाँका १५ वर्षका छोरा पासाङ लोदेन खर्क आसपासका उनीहरू चौंरी गोठ सार्ने क्रममा हिउँमा फसेका थिए ।
शनिबार बिहान टेलिफोन गरेर हेलिकोप्टरबाट आफूहरूको उद्धार गरिदिन अध्यक्ष शेर्पालाई अनुरोध गरेका थिए । अहिले उनीहरूसँग सम्पर्क स्थापित हुन नसकेको वडाध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।
प्रतिक्रिया