अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचन गर्न एनआरएनएलाई परराष्ट्र मन्त्री खड्काको निर्देशन

निर्वाचन गर्न एनआरएनएलाई परराष्ट्र मन्त्री खड्काको निर्देशन


लण्डन – परराष्ट्र मन्त्री नारायण खड्काले गैरआवासीय नेपाली संघको निर्वाचन गर्न निर्देशन दिनुभएको छ। संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा शुक्रबार गएको एक प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खड्काले संघको १०औं महाधिवेशन तथा निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभएको हो ।

मन्त्री खड्काले मन्त्रालयको तर्फबाट कुनै हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्त गर्दै सबै पक्षलाई समेटेर लैजान सुझाव दिनुभएको थियो । भेटमा गैरआवासीय नेपाली संघका पन्तले निर्वाचनको विषयलाई लिएर संघ मन्त्रालयविरुद्ध पाटन उच्च अदालतमा जाने बाध्यात्मक कदम भएको बताउनुभयो ।

पन्तले अगामी दिनमा मन्त्रालयसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै संघको नयाँ नेतृत्वको लागि निर्वाचनको लागि सहयोग गर्न आग्रह गर्नुभयो । प्रतिनिधिमण्डलमा गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्मा, कोषाध्यक्ष महेश श्रेष्ठ, नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ, गैरआवासीय नेपाली संघ बेल्जियमका पूर्वसभापति गंगाधर गौतम लगायतको उपस्थिति थियो ।

गैरआवासीय नेपाली संघ र मन्त्रालयबीचको पत्रयुद्धपछि संघका पदाधिकारीहरूले पहिलो पटक मन्त्री खड्कालाई भेटेका हुन् । पछिल्लो भेटघाटले संघ र मन्त्रालयबीचको सम्बन्धमा सुधार हुने अपेक्षा गरिएको छ ।