अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ठाडोभाका संरक्षणमा नयाँ पुस्ता अग्रसर

ठाडोभाका संरक्षणमा नयाँ पुस्ता अग्रसर


लमजुङ – लोपोन्मुख ठाडोभाका संरक्षणमा लमजुङका नयाँ पुस्ता सक्रिय रूपमा लागिपरेका छन् । युवाहरूको यो अभियानलाई स्ठानीय संघसंस्था र सर्वसाधारणले पनि सहयोग गरिरहेका छन् ।

नेपाली मौलिकता झल्किने र लमजुङे संस्कृतिसँगै जोडिएको प्रचलित भाका हो ठाडोभाका । यही भाकासँग जोडिएको चर्चित नाम हो- भेडीखर्के साइँला (दीर्घराज अधिकारी) । ठाडोभाकालाई लामो समयसम्म एक्लै प्रचार गर्नमा स्व. भेँडीखर्के साइँलाको योगदान महत्वपूर्ण छ । माया, पिरती, दुःख-सुख, गाउँले जन-जीवनका भाव समेटेर सात दशकसम्म साइँला ठाडो भाका संरक्षणमा लाग्नुभएको थियो । उहाँ अहिले हामीमाझ हुनुहुन्न । तर पनि उहाँले गाउनुभएको ठाडोभाका भने गुन्जिरहेको छ । यसलाई मर्न नदिन जिल्लामा ठाडोभाका लोककला प्रतिष्ठान र भेँडीखर्के साइँला स्मृति प्रतिष्ठानसमेत स्थापना गरिएको छ । लमजुङको मौलिक लोकभाकाका रुपमा पहिचान बनाएको ठाडोभाकाको तीन दिने निःशुल्क प्रशिक्षणसमेत सम्पन्न भएको छ ।

प्रशिक्षणमा १२ देखि ६५ वर्षसम्मका प्रशिक्षार्थी सहभागी थिए । दोर्दी गाउँपालिकाको प्रवर्द्धन र ठाडो भाका लोककला प्रतिष्ठान नेपालले प्रशिक्षण आयोजना गरेको हो । प्रशिक्षणमा ३७ जना सहभागी थिए । सहभागीलाई ठाडोभाकाको गायन, नाच र बाद्यवादनका बारेमा सैद्धान्तिक र प्रयोगात्मक विधिबाट प्रशिक्षण दिएको थियो । आयोजक प्रतिष्ठानका संरक्षक एवं ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’, वरिष्ठ लोकगायिका सीता दुरा, भाषाविद् मुक्तिनाथ घिमिरे, आयोजक प्रतिष्ठानका आजीवन सदस्य एवं ठाडोभाकाको पहिलो प्रतियोगितामा प्रथम हुने आशबहादुर विक र काशीमाया तामाङले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले लोकसंस्कृतिको संरक्षणका क्षेत्रमा यो प्रशिक्षण उपलब्धिपूर्ण रहेको बताउनुभयो । दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले लमजुङकै पहिचानको रुपमा रहेको ठाडोभाका संरक्षणका लागि गाउँपालिकाले सहयोग गर्दै आउको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ठाडोभाकालाई मर्न नदिन स्थनीय तह, प्रदेश सरकारले संरक्षणमा ध्यान दिनुपर्छ ।’

ठाडोभाका लोककला प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले लोककला संस्कृतिको मौलिकता प्रवर्द्धनका लागि स्थानीय र प्रदेश सरकारले समेत निश्चित बजेट छुट्याउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रतिष्ठानको स्थापना दिवसमा आयोजना गर्ने प्रतियोगितामा गुणस्तर टिमको सहभागिताका लागि प्रशिक्षण आयोजना गरिएको हो । ठाडोभाकाको तेस्रो खुल्ला प्रतियोगिता २१ र २२ माघमा  मध्यनेपाल नगरपालिका-१० को ठाडोभाकाका सर्जक देउबहादुर दुराको जन्मस्थल हाँडीखोला, बर्धन गाउँमा हुनेछ ।’

आजीवन ठाडोभाका संरक्षणमा लागेका साइँलाले नागरिक तहबाट ‘ठाडोभाका शिरोमणि’ को उपाधि पाए । तर, उहाँ जीवित रहिन्जेल राज्यले खासै सहयोग र सम्मान गर्न नसकेको भेँडीखर्के साइँलाको संगत गरेका सुन्दरबजार नगरपालिका-५, तार्कु खहरेका विष्णुभक्त अधिकारी बताउँनुहुन्छ । भेँडीखर्के साइँलाको निधनसँगै संकटको संघारमा पुग्नै लागेको ठाडोभाका जोगाउन उहाँ पनि लागि परेका छन् । ठाडोभाका जोगाउन सके मात्रै साइँलाको आत्माले शान्ति पाउने उहाँले बताउनुभयो । ठाडोभाका हुर्काउन देउबहादुर दुरा, पञ्चेसुब्बा गुरुङको भूमिका पनि उत्तिकै रहेको छ ।

पहिले एकान्तमा मात्रै ठाडोभाका गुनगुनाउने विष्णुभक्त पछिल्लो समय खुलेरै गाउँछन् । ठाडोभाका गाउन मादल, मुजुरा र भाका छोप्ने महिलाको समूह चाहिन्छ । युवापुस्ताहरू पनि पछिल्लो समय ठाडो भाका सुन्न लालयित बन्ने गरेका छन् । ‘तर, गाउनेहरूको संख्या निकै कम छ । ठाडोभाका जेगाउन मेलामहोत्सवमा ठाडोभाका प्रतियोगिता सञ्चालन गर्नुपर्छ,’ उहाँले भन्नुभयो । इच्छुक युवापुस्तालाई ठाडोभाका गायनबारे प्रशिक्षण दिनुपर्छ । ठाडोभाकाका शिरोमणिको उपाधि पाएका भेँडीखर्के साइँला (दीर्घराज अधिकारी) को २९ भदौ १९९० बुबा बलभद्र अधिकारी र आमा नन्दकुमारी अधिकारीको कोखबाट साबिक सिन्दूरे गाविस-६, दुराडाँडा लमजुङमा जन्मिएका हुन् ।  साइँलाको २६ भदौ ०७४ मा ८४ वर्षको उमेरमा निधन भएको हो ।