अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हिउँमा फसेका बाबुछोराको पाँच दिनमा पनि उद्धार हुन सकेन

हिउँमा फसेका बाबुछोराको पाँच दिनमा पनि उद्धार हुन सकेन


ताप्लेजुङ – ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङमा पाँच दिनदेखि हिउँमा फसेका बाबुछोराको उद्धार हुन सकेको छैन । आइतबार बिहान दुई पटक हेलिकोप्टरले उद्धारको प्रयास गरे पनि सफल भएको छैन ।

पाँच दिनअघि आएको हिउँ पहिरोले अन्दाजी ५०–५५ वर्षका लाक्पाटाँसी र उनका १४–१५ वर्षीय छोरा पासाङ शेर्पालाई बगाएको हो । ‘चौरीसँगै हिउँ पहिरोले बगायो । तर, ओढर भेटेर बसेका छौँ । हामी निस्कन नसक्ने भयौं । हेलिकोप्टरबाट निकालिदिनु’ भन्दै शनिवार बिहान फोनबाट आग्रह गरेको  मिक्वाखोला गाउँपालिका–५ का वडा अध्यक्ष डण्डु शेर्पाले बताउनुभयो । समुद्र सतहबाट चार हजार मिटर उचाइमा अवस्थित पापङको लोनाक भन्ने ठाउँमा चौंरी गोठ सार्ने क्रममा उनीहरू हिउँमा फसेको हुन् ।

शनिवार बिहान पनि हेलिकोप्टरमार्फत उनीहरूको उद्धार प्रयास भएको थियो । तर, कुन ठाउँमा बसेको छन् मेसो नपाएपछि हेलिकोप्टर त्यसै सुकेटार विमानस्थल फर्केको थियो । आइतबार बिहान पनि उद्धारका लागि दुई पटक सुकेटरबाट पापुङको लोनाकमा हेलिकोप्टर गएको थियो । आज पनि उनीहरू बसेको ठाउँ पत्ता नलागेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे जानकारी दिनुभयो । फोनसम्पर्क भएकाले बाबुछोरा बसेको ठाउँमा आगो बालेर धुवाँ निकाल्न अनुरोध गरेको पाण्डेले बताउनुभयो । धुवाँ निस्केपछि ठाउँ पहिचान गरेर हेलिकोप्टरमार्फत उद्धार गर्ने पाण्डेको भनाइ छ ।