अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डलाई कांग्रेसको पुच्छर समातेर बैतर्नी जानुछ : महेश बस्नेत

प्रचण्डलाई कांग्रेसको पुच्छर समातेर बैतर्नी जानुछ : महेश बस्नेत


तनहुँ – माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दस्ताबेज एमालेलाई गाली गलौच गर्ने विरोधपत्र जस्तै लेखेको नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले टिप्पणी गर्नुभएको छ ।

‘हिजो राजालाई सामन्तवादको नाइके, कांग्रेसलाई दलाल पुँजीवादी नाइके भनेर मुख्य अन्तर्विरोध राजा र कांग्रेससँग केन्द्रित हुन्छ भनेर दस्ताबेजमा लेख्ने प्रचण्ड आज अन्य राजनीतिक दलहरूलाई हेर्ने दृष्टिकोणको सन्दर्भमा मौन छन् । एमाले र पार्टी अध्यक्ष केपी ओलीलाई गाली गलौच गर्ने विरोधपत्र जस्तो लेखेका छन्’, नेता बस्नेत बताउनुभयो ।

एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल शुक्लागण्डकी नगर कमिटीको पहिलो अधिवेशनलाई आइतबार सम्बोधन गर्दै नेता बस्नेतले कांग्रेसको पुच्छर समातेर बैतर्नी तर्नुपर्ने भएकाले कांग्रेसको बारेमा प्रचण्डले दस्ताबेजमा एक शब्द लेख्न हिम्मत नजुटाएको दाबी गर्नुभयो । उहाँले अगाडी थप्दै भन्नुभयो, ‘हिजो टाउकोको मुल्य तोक्ने शेरबहादुर देउवाको पाउमा सत्ता बुझाएर केपी ओलीलाई गाली गरेर क्रान्ति र समाजवादको यात्रा गर्ने प्रचण्ड थोत्रे गाडी चढेर लास्सातिरबाट कुटी जाने बाटो खोजिरहेका छन् ।’

हिजो अमिरेकी साम्राज्यवाद र भारतीय विस्तारवाद भन्दै एमसिसिको विरोध गर्ने प्रचण्डको त्यो नाटक मात्रै भएको यसपालिको राजनीतिक दस्ताबेजले पुष्टि गरेको बस्नेतले बताउनुभयो । उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘यसपाली तपाईंको प्रतिवेदनमा अन्तर्राष्ट्रिय शक्ति र मुलुकहरूलाई हेर्ने दृष्टिकोण कहाँ हरायो ? स्यालको सिङ हरायो जस्तो सबै कुरा हरायो ! किनभने प्रचण्ड आज कुनै देशलाई साम्राज्यवाद घोषणा गर्न सक्ने अवस्थामा छैनन् । त्यो भनेको दिन हेग पुगिन्छ भन्ने उनले बुझेका छन् । त्यै भएर राजनीतिक प्रतिवेदनमा यी सबै कुरा गायब भयो ।’

उहाँले माधव नेपालको विधि, पद्धति र कानुन आफ्ना नजिकका मान्छेलाई लाभका पदमा दिनका लागि मात्रै केन्द्रित भएको उल्लेख गर्नुभयो । ‘माधव कमरेडका विधि पद्धति कहाँ गयो ? यो त रामकृष्ण ढकालको गीत यो त सब भन्ने कुरा न हुन जस्तो भो !’, उहाँले व्यंग्य गर्दै भन्नुभयो ।

आगामी निर्वाचनमा एमाले पहिलो पार्टी साबित हुने नेता बस्नेतले बताउनुभयो । ५० लाख पपुलर भोट ल्याउने गरेर युवा आन्दोलनमा केन्द्रित हुन आग्रह गर्नुभयो । स्पष्ट बहुमतको सरकार बनाउने लक्ष्य लिएर एमाले अगाडी बढिरहेको उहाँले बताउनुभयो । ‘त्यसपछाडि कांग्रेस प्रतिपक्ष हुनेछ । जनताले चाहेको स्थिर सरकार हामी दिनेछौँ । किनभने पार्टीभित्र अवसरवादी चरित्र बोकेकाहरूलाई हामी एमाले शुद्धीकरणको अभियानबाट सफाइ गरेका छौँ’, उहाँको जिकिर छ । आगामी निर्वाचनपछि धेरै दलले राष्ट्रिय दलको मान्यता नपाउने बस्नेतले बताउनुभयो ।