काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टलाई कमजोर बनाएर समाजवाद नआउने बताउनुभएको छ ।
काठमाडौंमा आज आयोजित राष्ट्रिय जनसांस्कृतिक महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कम्युनिष्टलाई कमजोर बनाएर र आफ्नै पार्टीको सरकार ढालेर समाजवाद नआउने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गर्नुभयो ।
माओवादी केन्द्रको आठौं महाधिवेशनमा प्रचण्डले पेस गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदन र प्रचण्डको राजनीतिक चरित्रमाथि टिप्पणी गर्दै ओलीले कम्युनिष्टलाई कमजोर बनाएर र आफ्नै पार्टीको सरकार ढालेर समाजवाद नआउने बताउनुभएको हो ।
एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा गठन गरिएको थियो । नेकपा अध्यक्ष ओली नेतृत्वको सरकार ढालेर देउवा नेतृत्वको सरकार बनाउन प्रचण्ड र तत्कालीन नेकपा नेता माधवकुमार नेपालको हात रहेको ओलीले दाबी गर्नुभयो ।
आफू नेतृत्वको तत्कालीन सरकारलाई ६४ प्रतिशत वामपन्थीहरुको समर्थन रहेको स्मरण गराउँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘नेकपाको सरकारलाई वामपन्थीहरूको ६४ प्रतिशत समर्थन थियो । त्यही सरकार ढाल्ने, पार्टी फुटाउने, कम्युनिष्टलाई कमजोर बनाउने अनि त्यसपछि समाजवादको कुरा गर्ने ? यही हो नयाँ समाजवादको बाटो ?’







प्रतिक्रिया