अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुर्खेत एमाले अध्यक्षमा पाँच जनाको दाबी

सुर्खेत एमाले अध्यक्षमा पाँच जनाको दाबी


सुर्खेत – नेकपा एमाले सुर्खेतको अध्यक्षमा पाँच जना आकांक्षी देखिएका छन् । एमाले सुर्खेतको सोमबार बसेको सचिवालय बैठकमा जिल्ला कमिटीभित्रका पाँच जनाले अध्यक्षमा आकांक्षा देखाएका हुन् ।

प्रदेश कमिटी सदस्य कुलमणि देवकोटा, वर्तमान जिल्ला कमिटीका उपाध्यक्ष अमृत बिसी, जिल्ला कमिटी सदस्यहरू डण्डीप्रसाद शर्मा, हरिहरनाथ योगी र ऐनबहादुर चन्दले अध्यक्षको दाबी गर्नुभएको छ ।

यही २३ पुसमा हुने जिल्ला अधिवेशनमा ५ जना साथीको जिल्ला अध्यक्षमा आकांक्षा देखाएको जिल्ला अध्यक्ष ध्रुवकुमार शाहीले बताउनुभयो । ‘सचिवालय बैठकमा साथीहरूले नेतृत्वमा आकांक्षा प्रस्तुत गर्नुभएको छ तर सर्वसहमतिमा नेतृत्व छान्ने प्रस्ताव जिल्ला कमिटी बैठकमा लैजाने निर्णय भएको छ ।’ उहाँले भन्नुभयो, ‘जिल्ला कमिटीको बैठक २२ पुसमा बोलाएका छौँ ।’

अन्य पार्टीसँग प्रतिस्पर्धा गर्नसक्ने एवं पार्टीलाई मजबुत बनाउनका लागि आफूले नेतृत्व लिने चाहेको टेवकोटाले बताउनुभयो । अहिले एमाले सुर्खेतलाई एकताबद्ध गर्न नयाँ नेतृत्वको आवश्यकता रहेको र त्यसका लागि आफू नै उपयुक्त रहेको बिसीको भनाइ छ । वर्तमान कमिटीमा उपाध्यक्ष भएकाले पनि अध्यक्षमा दाबी स्वभाविक हुने उहाँले बताउनुभयो ।