अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी सांसदले घुर्की लगाएपछि कांग्रेसलाई फकाउन हम्मे हम्मे

माओवादी सांसदले घुर्की लगाएपछि कांग्रेसलाई फकाउन हम्मे हम्मे


काठमाडौं प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा मंगलबार उखु किसानको समस्याबारे सरकारका विभिन्न मन्त्रालयका सचिवसँग छलफल थियो । छलफलमा सभापति भरतकुमार शाहले उत्तर प्रदेशको मोडल प्रस्तुत गरेर दीर्घकालीन समाधानका लागि नयाँ कानुन बनाउनुपर्नेमा जोड दिनुभयो । त्यसमा वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई, राजश्व सचिव कृष्णहरि पुष्कर र कृषि सचिव गोविन्दप्रसाद शर्माले सहमति जनाउँदै समितिबाट भएका निर्देशन कार्यान्वयनमा गइरहेको र केही भुक्तानी गर्न बाँकी रहेको सुनाउनुभयो । उखु किसानको समस्या समाधानका लागि आफ्नो मन्त्रालय जुनसुकै निर्णय गर्न तयार रहेको बताउनुभयो । तर सधैं प्रतिबद्धता आउने र समाधान नभएको देखेका सांसदहरु भने रन्किए।

नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले आमरण अनसन बसेर घुँडा टेकाउनेसम्मको अभिव्यक्ति दिनुभयो । त्यसपछि माओवादीकै सांसद धर्मशीला चापागाईं १५ असोज २०७५ अर्थात तीन वर्ष अघि दिइएका निर्देशन अझै कार्यान्वयन नभएको, समस्या ज्युँका त्युँ रहेको भन्दै कड्किनुभयो ।  सचिवहरूको जवाफ चित्तो बुझ्दो नभएको भन्दै यो विषयमा छलफल गर्न उहाँले कांग्रेस नेतासमेत रहेका सभापति शाहको ध्यानाकर्षण गराउनुभएको थियो ।

धर्मशीला कड्किँदा माओवादीकै मोदीले चाहिं चेतावनी दिनुभयो । ‘आगामी ६ महिनामा नीति बन्दै गर्छ, अहिले राज्यले नै ८/१० करोड वक्यौता देओस् । पछि उद्योगबाट असुल्न सकिन्छ,’ उहाँले भन्नुभयो, ‘राज्यले किसानको समस्या सुनेन, बाँकी भुक्तानी तत्काल दिएन भने माइतीघर मण्डलामा गएर आमरण अनसन बस्छु । किसानसँगै अनसन बसेर घुँडा टेकाउँछौं ।’

मोदीको चेतावनीपछि कांग्रेस सांसद पार्वती डिसी चौधरीले माहोल शान्त पार्न खोज्नुभयो । उहाँले आफ्नै सरकार भएको बेला अनसन बस्ने कुरा नगर्न अनुरोध गर्नुभयो । ‘माननीयज्यूले अनसन बस्ने कुरा नगर्नुस् । आफ्नै सरकार छ । समस्या समाधानका लागि सरकारलाई भन्नुपर्छ,’ उहाँले भन्नुभयो ।

उहाँ त्यतिमै रोकिनुभएन, समस्या समस्या समाधान नहुनुमा कसको कमजोरी हो भनेर प्रश्न गर्न थाल्नुभयो । ‘मन्त्रीहरु पनि हामीजस्तै माननीय भएरै गएको छ । किन रोकिइरहेको छ । मन्त्रीलाई सचिवले नटेरेको हो कि सचिवले मन्त्रीलाई बुझाउन नसकेको हो ? हाम्रो सरकार छ, किन समाधान हुन सकिरहेको छैन ? यसमा मन्त्रीहरू पनि गम्भीर हुनुपर्छ । सरकारले तुरून्त समाधान गर्नुपर्छ,’ उहाँद्ये भन्नुभयो ।

कांग्रेसबाट सभापति रहेका शाहले पनि माहोल शान्त पार्ने प्रयास गरेका थिए । सांसद धर्मशीला वाणिज्य सचिव भट्टराईमाथि कड्किँदा शाहले उहाँ सचिवले सबै कुरा कहाँ भन्न सक्नुहुन्छ, मन्त्री नै बोलाउला भनेर भन्नुभएको थियो । माओवादी सांसदहरुले चर्को प्रश्न गर्दा सचिव भट्टराई छलफल नसकिँदै सभापति शाहसँग विदा मागेर हिँड्नुभएको थियो । छलफलमा माओवादी सांसदहरुले सरकारका सचिवबाट सन्तुष्ट हुनेगरी जवाफ नै नपाएको गुनासो गर्नुभएको थियो ।