अर्घाखाँची – यही मंसिर २३ गते हुने नेकपा एमालेको अर्घाखाँची जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।
आज पार्टी कार्यालयमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा एमाले अर्घाखाँचीका प्रचार विभाग प्रमुखसमेत रहेका उपसचिव प्रेमनारायण गैरेले सबै उपसमितिहरूले आ-आफ्नो तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । कार्यक्रममा महाधिवेशन सम्पन्न गर्नका लागि गठन गरिएका विभिन्न उपसमितिका संयोजकहरूले तयारीको अवस्थाको विषयमा जानकारी गराउनुभयो ।
नेकपा एमाले सचिव टोपबहादुर रायमाझीले उद्घाटन गर्ने जिल्ला अधिवेशनमा विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र छ । जिल्ला नेतृत्वको लागि नेकपा एमाले प्रदेश कमिटी सदस्यसमेत रहेका नेता पीताम्बर भुसालले उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । नेतृत्वका लागि वर्तमान उपसचिव प्रेम गैरेको दाबी रहेको भनिए पनि गैरेले हालसम्म औपचारिक रूपमा घोषणा गर्नुभएको छैन ।
त्यस्तै जिल्ला सचिवको लागि वर्तमान सचिव तोजबहादुर रायमाझीले उम्मेदवारी घोषणा गर्नुभएको छ । अधिवेशनमा सन्धिखर्कबाट ९९ जना, मालारानीबाट ७२ जना, शितगंगाबाट ६८ जना, पाणिनीबाट ६४ जना, भूमिकास्थानबाट ६१ जना, छत्रदेवबाट ५६ जना, शाखाबाट १५ जना, आयोजक कमिटीबाट १०० जना र मनोनीत २७ गरी ५६३ प्रतिनिधि सहभागी हुनेछन् ।
सबै प्रतिनिधि सर्वसम्मत रूपमा टुंगाएको एमालेले जिल्ला सम्मेलन पनि सर्वसम्मत रूपमै सकिने तयारी गरेको जनाएको छ । अधिवेशनले ९० सदस्यीय जिल्ला कमिटीको निर्वाचन गर्नेछ ।







प्रतिक्रिया