अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमालेको सिन्धुपाल्चोक जिल्लाको नवौँ अधिवेशनकाको तयारी तीव्र

नेकपा एमालेको सिन्धुपाल्चोक जिल्लाको नवौँ अधिवेशनकाको तयारी तीव्र


सिन्धुपाल्चोक – नेकपा एमालेको नवौं जिल्ला अधिवेशनका लागि सिन्धुपाल्चोकले तयारी तीव्र पारेको छ । आगामी नेतृत्वका लागि नेता आन्तरिक तयारीमा जुटिरहेका छन् भने अधिवेशन सफल पार्नका लागि अन्य तयारीसमेत तीव्र पारिएको वर्तमान सचिव कमल नेपालले बताउनुभयो ।

पार्टीको जिल्ला कमिटीको २५औं बैठकले विभिन्न उपसमिति बनाएर अधिवेशनको तयारी गरिरहेको छ । अधिवेशनबाट नेतृत्व लिनका लागि नेताहरूले प्रचार-प्रसार एवं तयारी थालिसकेका छन् .

आगामी कार्यकालको अध्यक्षका लागि एमाले बागमती प्रदेश कमिटीका सदस्यसमेत रहेका बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । त्यस्तै अध्यक्षमा वर्तमान सचिव एवं लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपाल पनि आकांक्षी छन् ।

त्यस्तै बागमती प्रदेश कमिटीका सदस्यसमेत रहेका राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष एवं वर्तमान जिल्ला कमिटी सदस्य अशोक चौलागाईं पनि अध्यक्षको आकांक्षी रहेका छन् ।

सचिवका लागि हालका वर्तमान उपसचिव सूर्य लामा, अनेरास्ववियुका पूर्व अध्यक्ष जेपी सिलवाल, अखिलका पूर्व अध्यक्ष एवं अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष चन्द्र थिङ लगायतका नेताहरूले सामाजिक सञ्जालमार्फत सचिव पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख समेत रहेका कृष्णगोपाल तामाङ पनि सचिवको आकांक्षीहरू रहेका छन् ।

सिन्धुपाल्चोकमा १९ हजार सङ्गठित सदस्यताको आधारमा केन्द्रीय महाधिवेशनमा प्रतिनिधिहरू छनोट भएका थिए । सबै सङ्गठित सदस्य मतदाता हुने र सर्वसम्मत नेतृत्व छनोट हुन नसके पालिका स्तरमा मतदानमार्फत नेतृत्व चयन हुने एमाले नवौं जिल्ला अधिवेशनका लागि निर्वाचन समितिका संयोजक भेषराम ढकालले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकको नवौं जिल्ला अधिवेशन पौष २३ गते सिन्धुपाल्चोक जिल्लाको सुन्दर नगरी बाह्रबिसेमा हुँदैछ ।