काठमाडौँ- तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले नारायणहिटी दरबार सङ्ग्रहालयभित्र कफी हाउस सञ्चालन अनुमतिको निर्णय आफ्नो पालामा नभएको बताउनुभएको छ ।
नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्तासहितले भट्टराईको पालामा उक्त निर्णय भएको आरोप लगाएका थिए। जवाफमा उहाँले आफू पर्यटनमन्त्री हुनुभन्दा पहिले नै दरबार सङ्ग्रहालयभित्र कफी हाउसको पूर्वाधार बनिसकेको सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिनुभयो ।
उहाँले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, ‘नारायणहिटी दरबार सङ्ग्रहालयबारे सार्वजनिक भएको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। त्यस सम्बन्धी कुनै पनि निर्णयमा मेरो संलग्नता नरहेको स्पस्ट गर्दछु।’ उहाँले लेख्नुभएको छ- ‘त्यसबारेको कुनै पनि निर्णय मेरो जानकारीमा समेत नरहेको सविनय अनुरोध गर्दछु। आफ्नो संलग्नता नरहेको कुनै पनि कामप्रति मेरो जवाफदेहीता नरहने स्वत: स्पस्ट छ।’
उहाँले बिनाकसुर कसैको सार्वजनिक छविमा आँच आउने समाचार र टिप्पणी नगर्न सम्बन्धित सबैमा अनुरोध पनि गर्नुभएको छ । ‘मेरो संलग्नता रहेको भए सत्यतथ्य र मेरो हस्ताक्षरसहितको निर्णय कपी वा मेरो लिखित निर्देशन पत्र सार्वजनिक गर्न म चुनौती दिन्छु। म मन्त्री हुनुपूर्व नै त्यहाँ कफी हाउस बनिसकेको थियो,’ उहाँले लेख्नुभएको छ । नारायणहिटी दरबार संग्रहालयमा बतास समूहले कफी हाउससहितको रेष्टुराँ चलाउन लागेपछि त्यसको चर्को विरोध भएको थियो। पर्यटनमन्त्री प्रेम आलेले उक्त कफी हाउस चलाउन नदिन मौखिक निर्देशन दिनुभएको छ ।







प्रतिक्रिया