अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मतदाता नामावली विवरण संकलन राति ८ बजेसम्म  (तस्वीरहरू)

मतदाता नामावली विवरण संकलन राति ८ बजेसम्म  (तस्वीरहरू)


भैरहवा – पछिल्लो केही दिनदेखि जिल्ला निर्वाचन कार्यालय अगाडि झिसमिसे हुँदा नै सयौंको संख्यामा मानिसहरू हुल देख्न सकिन्छ । कार्यालयको पूर्वतर्फ पुरुषहरू र पश्चिमतर्फ महिलाहरू लाइनमा बसेको देखिन्छ ।

दुवैतर्फ करीब ३०० मिटरको हाराहारीमा मानिसहरू अव्यवस्थित रूपमा लाइनबद्ध देखिए । मतादाता परिचयपत्र दर्ता गराउनेको लाइनमा वृद्धदेखि युवाहरूको जमात छ । कोही साना बच्चा बोकेर आएका छन् भने महिला तथा जेष्ठ नागरिकहरू पनि चिसोमा मतदाता परिचयपत्र दर्ताका लागि प्रतिक्षामा छन् ।

कार्यालयको गेटभित्र प्रवेश पाउनेहरू हर्षित देखिन्छन् । उनीहरूको अनुहारमा हँसिलो हुनुको कारण थियो नौ घण्टापछि पालो आएर नाम दर्ताका लागि फोटो खिचाउन पाएकोले । बिहानै ५ बजेदेखि लाइनमा बसेका उनीहरू साढे २ बजे फर्म लिएर फोटो खिचाउन पुगे । सयौँको संख्यामा मानिसहरू कार्यालयअगाडि छन् । ‘बाहिर भिडभाड त छ तर कार्यालय भित्र आएपछि युद्ध जितेजस्तै आनन्द लाग्यो,’ उनीहरू भन्छन्।

भैरहवाको यो दृश्य पछिल्लो दुई साता ेखि यस्तै छ, सरकारले निर्वाचनको मिति तोकिदिएमा मतदाता नामावली दर्ता रोकिने डरले नागरिकहरू नामावली दर्ता गर्नका लागि तँछाडमछाड गरेका छन । भोट हाल्न पाउने अधिकार सुनिश्चित गर्नका लागि सबै काम छाडेर उनीहरू लाइनमा बसेको छन् । जिल्ला निर्वाचन कार्यालयले बिहान १० बजे देखि रातिको ८ बजे सम्म काम गरिरहेको छ ।

कार्यालय प्रमुख अयोध्या भण्डारीका अनुसार दैनिक आठ सयको हाराहारीमा मतदाता नामावली दर्ता भइरहेको जानकारी दिनुभयो । ‘कार्यालय समय ४ बजेसम्म हो  । तर, हामीले पछिल्लो समय राति ८ बजेसम्म निरन्तर काम गरिरहेका छौँ । पाँचवटा ल्यापटपबाट दर्ताको काम भइरहेको छ । यसअघि दुई जना जनशक्तिले काम गरिरहेका थिए । अहिलेको सेवाग्राहीको चापलाई मध्यनजर गरेर चार जना निश्चित अवधिका लागि थपेका छौ,’ प्रमुख भण्डारीले भन्नुभयो ।

उहाँका अनुसार चाप बढेकाले केही दिन टोकन प्रणली लागू गरिएको थियो । ‘टोकन नै छाडेर जाँदा अव्यवस्थित भएकोले मंगलबारबाट लाइन क्रमबद्धमा दर्ता गरिरहेका छौं । हामीले कार्यालयबाट पाँच वटा काउन्टर, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय मझगावाबाट एक एक काउन्टर र इलाका प्रशासन कार्यालय बुटवलबाट दुई वटा काउन्टरबाट दर्ताको काम गरिरहेका कार्यालय प्रमुख भण्डारीले जानकारी दिनुभयो ।