संखुवासभा – संखुवासभाको चैनपुर नगरपालिकाले नगरभित्रका किसानलाई अनुदानमा मौरीसहितको घार वितरण गरेको छ । चैनपुर नगरपालिकाले अपांगता भएका व्यक्तिका परिवारलाई अनुदानमा मौरीसहितको घार वितरण गरेको हो ।
मौरीपालनमा अब्बल नगर बनाउने उद्देश्यसहित ११ वटै वडाका अपांगता भएका व्यक्तिका ३३ परिवारलाई अनुदानमा मौरीसहितको घार वितरण गरेको नगर प्रमुख भरतकुमार खत्रीले बताउनुभयो । अपांगता भएका व्यक्तिका परिवारलाई सातदिने मौरीपालनसम्बन्धी तालिमसहित मंगलबार मौरीसहितको घार वितरण गरिएको उहाँले बताउनुभयो ।
घारसहितको मौरी वितरण गर्दै नगर प्रमुख खत्रीले सहभागीहरूलाई व्यावसायिक बन्न आग्रह गर्दै नयाँ व्यवसायीहरूलाई थप सहयोग समेत गर्ने धारणा राख्नुभयो । ११ वटै वडाबाट छनोट भएका ३३ अपांगता भएका परिवारलाई घारसहितको मौरी वितरण गरिएको उहाँले बताउनुभयो ।
अपांगता रोकथाम तथा पुन:स्थापना कार्यक्रमअन्तर्गत चैनपुर नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालयको लागत साझेदारीमा १४ देखि २० पुससम्म मौरीपालनसम्बन्धी तालिम गरिएको कार्यक्रमका फोकल पर्सन सूर्यकिरण भण्डारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया