अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभापतिले कुन मापदण्डअनुसार केन्द्रीय सदस्य मनोनयन गर्नुभयो जान्न चाहन्छौं : डा.शेखर कोइराला

सभापतिले कुन मापदण्डअनुसार केन्द्रीय सदस्य मनोनयन गर्नुभयो जान्न चाहन्छौं : डा.शेखर कोइराला


काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले पार्टीलाई आगामी तीनै तहको निर्वाचनमा एक नम्बरको बनाउने घोषणा गर्नुभएको छ ।

कांग्रेसको १४औं महाधिवेशनमा आफ्नो समूहबाट विजयी भएका र पराजित भएकाहरूको भेलामा कोइरालाले सो घोषणा गर्नुभएको हो ।

अनामनगरस्थित होटल बसेरामा आयोजित भेलामा उहाँले पार्टीको केन्द्रीय कार्यसमितिमा निर्वाचन र मनोनयन दुवै माध्यमबाट पुगेका नेताहरूलाई बधाई दिँदै उहाँले सबैको एउटै जोड कांग्रेसलाई एकढिक्का बनाउनुपर्ने रहेको पनि बताउनुभयो ।

कोइरालाले महाधिवेशनपछि सभापति शेरबहादुर देउवाले मनोनयन गर्नुभएका १३ जना केन्द्रीय सदस्यहरू कुन मापदण्डअनुसार मनोनयन भएका हुन् त्यो जान्न चाहेको उल्लेख गर्नुभयो । ‘महाधिवेशनपछि सभापतिज्यूले मनोनयन गर्नुभएका सबै नेताहरू योग्य र सक्षम नै हुनुहुन्छ । तर, कुन मापदण्डका आधारमा मनोनयन गरिएको हो । यो भने हामी जान्न चाहन्छौं,’ उहाँले भन्नुभयो ।

डा.कोइरालाले पार्टीलाई विधि र विधानअनुसार सबैको रायसुझावका आधारमा चलाउन नसकिए दुर्घटनामा पर्ने पनि बताउनुभयो । उहाँले आगामी निर्वाचनलाई मध्यनजर गरेर आफूहरू देशव्यापी रूपमा जनतामाझ जाने पनि घोषणा गर्नुभयो ।

भेलामा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, चन्द्र भण्डारीलगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो ।