काठमाडौं- नेपाल जनस्वास्थ्य संघको महासचिवमा कैलाश खाकी श्रेष्ठ बलियो उम्मेदवारको रुपमा देखिनुभएको छ ।
अघिल्लो पटकको निर्वाचनमा नेपाल जनस्वास्थ्य संघको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएका विराटनगरका श्रेष्ठले आगामी कार्यकालको निर्वाचनमा वसन्त अधिकारी समूहबाट महासचिवमा उम्मेदवारी दिनुभएको छ । निर्वाचन आगामी शनिबार काठमाडौंसहित प्रादेशिकरुपमा सात वटै प्रदेशमा एक साथ हुँदैछ ।
संघको मोरङ कार्यसमितिमा रहँदा र केन्द्रीय कार्यसमिति सदस्यमा रहँदा सृजनात्मक अभ्यास गर्नुभएका श्रेष्ठले सदस्यता विस्तारलगायतका एजेन्डा अघि सार्नुभएको छ । ‘हाम्रा दसौं हजार सदस्य छन्,’ उहाँले भन्नुभयो, ‘तर सदस्यता लिनेको संख्या भने १७ सय १८ जना मात्र छन् । ३० वर्षअघि स्थापना भएको संस्थालाई संस्थागत गर्न मेरो प्रमुख भूमिका रहन्छ ।’
नेतृत्व लिएर पनि बैठकमा भाग नलिने प्रवृत्ति रहेकोमा श्रेष्ठले अघिल्लो कार्यकालका अधिकांश बैठकमा सहभागी भएर रेकर्ड बनाउनुभएको छ । उहाँले स्थानीय तहमा जनस्वास्थ्य अधिकृतको दरबन्दीका लागि गहन पैरवी गर्ने बताउनुभएको छ ।
श्रेष्ठले जनस्वास्थ्यसँग सम्बन्धित विभिन्न संघ संस्थामा जनशक्ति व्यवस्थापनका लागि पहल गर्ने, अनुसन्धान तथा जर्नल प्रकाशनलाई निरन्तरता दिने, जनस्वास्थ्यसँग सम्बन्धित मानवस्रोत उत्पादन, विश्वविद्यालय तथा कलेजहरुसँग सहकार्य गर्नेलगायतका एजेन्डा पनि सार्नुभएको छ ।
विराटनगरको इडेन कलेज सञ्चालकसमेत रहनुभएका श्रेष्ठ फेक्स नेपाल एरिया संयोजक, लियो क्लव, कोरोना महामारीबाट सचेतना अभियान चलाउनका लागि रेडियो कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ ।
प्रतिक्रिया