अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उदयपुर अध्यक्षमा तीन जनाको दाबी

एमाले उदयपुर अध्यक्षमा तीन जनाको दाबी


उदयपुर – नेकपा एमाले उदयपुरको पुस २३ गते देखि सुरु हुने जिल्ला अधिवेशनमा नेतृत्वको लागि धमाधम उम्मेद्वारी घोषणा गर्ने क्रम सुरु भएको छ ।

वर्तमान जिल्ला सचिव समेत रहनुभएका परमेश्वर घिमिरेले अध्यक्षमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । त्यसैगरी नेता कुशलबाबु बस्नेत र नेता कालु लामाले पनि उदयपुरको अध्यक्षमा उम्मेद्वारी घोषणा गर्नुभएको छ ।

त्यस्तै उदयपुरका नेता टेकबहादुर राउत र नेता सम्भु पौडेलले एमाले उदयपुरको सचिवमा उम्मेद्वारी घोषणा गर्नुभएको छ ।

सुदृढ र एकतावद्ध नेकपा एमाले निमार्णका लागि आफूले गुट र प्यानल बिना नै अध्यक्षमा उम्मेद्वारी दिएको घिमिरेले बताउनुभयो ।

‘आगामी निर्वाचनमा जिल्लाका ७५ वडा, दुई संघिय निर्वाचन क्षेत्र, र ८ पालिकामा नेकपा एमालेलाई सानदार मत सहित विजय गराउन मेरो जित आवश्यक छ’ लामाले भन्नुभयो ।

लामा भन्नुहुन्छ, ‘अवसरवाद र आत्मसमर्पणवादको विरुद्ध मेरो उम्मेद्वारी हो । पार्टीको विधि-विधान, मर्म र भावनालाई आत्मसात गर्दै सबैलाई मिलाएर नेतृत्व गर्न सक्ने क्षमता भएकाले आफूले उम्मेद्वारी घोषणा गरेको हो ।’

पार्टीलाई सुदृढ, सवल र एकताबद्ध बनाउन कुनै गुटको पछि नलागी साझा उम्मेद्वारको रुपमा सचिवमा उम्मेद्वारी घोषणा गरेको पौडेलले बताउनुभयो ।

नेकपा एमाले आन्तरिक विवादमा परेको बेला पनि पार्टीले घिमिरेलाई अध्यक्षको जिम्मेवारी दिएको थियो। दश बुँदे सहमति पछि पार्टी अध्यक्षमा ईश्वरमणी राउत एमालेमा फर्किएका कारण घिमिरे पुनः पार्टी सचिव बन्नुभएको थियो । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आउनुभएका घिमिरे उदयपुरका शालीन, जुझारु, तार्किक र युवाहरुको माझमा लोकप्रिय नेताका रुपमा चिनिनुहुन्छ ।

लामा पूर्व स्ववियु सभापती, युवा संघ नेपाल उदयपुरको अध्यक्ष हुँदै १४ वर्षदेखि नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा सचिवालय सदस्यको रुपमा क्रियाशिल हुनुहुन्छ । लामा नेकपा एमाले उदयपुरको सातौं जिल्ला अधिवेशनमा उपाध्यक्षमा पराजित हुनुभएको थियो । लामा आदिवासी जनजाति महासंघको केन्द्रिय सचिवालय सदस्यको जिम्वेवारीमा समेत हुनुहुन्छ ।

पौडेल अनेरास्ववियु उदयपुरको संस्थापक उपाध्यक्ष, युवा संघ नेपाल उदयपुरको अध्यक्ष हुँदै एमाले क्षेत्रिय कमिटिको दुई कार्याकाल अध्यक्षको जिम्मेवारी समेत निर्वाह गरिसक्नुभएको छ । यसैगरी २०६२/०६३ को आन्दोलनमा राजद्रोहको मुद्धामा जेलजिवन समेत बिताउनु भएका पौडेल २०६४ साल देखि निरन्तर एमाले उदयपुर जिल्ला कमिटि सदस्य र सचिवालय सदस्यमा क्रियाशिल रहनुभयो । यस्तै नेपाल खेलकुद महासंघको केन्द्रिय सचिव हुँदै पौडेल हाल पार्टीको १ नं. प्रदेश सदस्यको जिम्मेवारीमा हुनुहुन्छ ।

पौडेलले नेकपा एमालेको क्षेत्रिय कमिटिको पुष्पलाल स्मृति भवन निमार्णका लागि बेल्टारमा २० लाख बराबरको १० धुर जग्गा समेत उपलब्ध गराउनुभएको छ ।

वर्तमान अध्यक्ष तथा १ नम्बर प्रदेश कमिटी सदस्य ईश्वरमणी राउतले पार्टी अध्यक्षमा उम्मेदवारी  नदिने घोषणा गर्नुभएको छ ।