अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विधानसम्मत निर्वाचित भएको हुँ : विनोद चौधरी

विधानसम्मत निर्वाचित भएको हुँ : विनोद चौधरी

निर्वाचितहरूलाई लान्छित गर्नु कार्यकर्ताहरुको अपमान हो


काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफु पार्टीको विधान र विधिवत रूपमा सम्पूर्ण प्रक्रिया पूरा गरेर पार्टीको १४औं महाधिवेशनमा निर्वाचित भएको बताउनुभएको छ ।

महाधिवेशनका विधिसम्मत प्रक्रियाहरूमार्फत् नेतृत्व छनौटका लागि भएको निर्वाचनमा आफैं सहभागी हुने र निर्वाचन हारेपछि विधिसम्मत थिएन भनेर प्रश्न उठाउनु अलोकतान्त्रिक र अराजनीतिक चरित्र भएको पनि उहाँले प्रतिक्रिया दिनुभएको छ ।

महाधिवेशनमा निर्वाचन समितिले उम्मेदवारी दर्तापछि विधिवत रूपमा दाबी विरोधको समय उपलब्ध गराएको थियो । ‘यदि म अयोग्य थिएँ भन्ने कसैलाई लागेको थियो भने त्यो समयमा किन दाबी विरोध गरिएन ?’ केन्द्रीय सदस्य चौधरीले भन्नुभयो, ‘आफै सोही निर्वाचनमा उम्मेदवार हुने र विजय हुन नसकेपछि विधिसम्मत भएन भनेर रोइलो गर्नुको कुनै अर्थ छैन । नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा यस्तो व्यवहार अपेक्षित मानिदैंन ।’

नेपाली कांग्रेसको १४औं महाधिवेशनको निर्वाचनमा चौधरी केन्द्रीय सदस्य (मधेशीतर्फ) दोस्रो धेरै मत २२०६ प्राप्त गरी विजय हुनुभएको थियो । सोही पदका लागि प्रतिस्पर्धामा रहेका सिरहाका सुभाषचन्द्र यादव पराजित हुनुभएको थियो । निर्वाचनमा पराजय भएको तीन सातापछि यादवले विधानमाथि प्रश्न उठाएका छन् । यस्तो व्यवहारलाई नेपाली कांग्रेसका नेता र कार्यकर्ताहरूले समेत रूचाएका छैनन् ।

‘यसलाई मैले मेरो राजनीतिक सक्रियताबाट आत्तिएकाहरूको मनोदशाका रूमा लिएका छुँ । मेरो सपना समृद्ध नेपाल निर्माण गर्ने हो । यस अभियानमा नेपाली कांग्रेसको नेतृत्वलाई हदैसम्मको साथ दिन म राजनीतिमा आएको हुँ ।’ चौधरीले भन्नुभयो, ‘म नेपाली कांग्रेसका होनहार कार्यकर्ताहरूबाट अनुमोदन भएर केन्द्रीय सदस्य पदमा निर्वाचित भएको हुँ । यसैगरि निर्वाचित हुने हक हरेक उम्मेदवारलाई थियो । तर, निर्वाचनमा पराजय भएपछि निर्वाचितहरूलाई लान्छित गर्नु भनेको आम कार्यकर्ताहरुको अपमान पनि हो ।’

केन्द्रीय सदस्यमा निर्वाचित हुनुअघि चौधरी कांग्रेस महासमिति सदस्य हुनुहुन्थ्यो भने उहाँ सांसद पनि हुन् ।

राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा ख्यातीप्राप्त उद्यमी चौधरी नवलपुर जिल्लाबाट राजनीतिमा उदाएका हुन् । कांग्रेसको १४औँ महाधिवेशनकालागि सर्वसम्मत प्रतिनिधि चुनिएपछि पार्टीभित्र उहाँको चर्चा चुलिएको थियो । चौधरी नेपालका एकमात्र डलर अर्बपति हुन् ।