अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

छाउ गोठ भत्काएपछि मात्रै छाउपडी प्रथाको अन्त्य हुन्छ : राष्ट्रपति भण्डारी

छाउ गोठ भत्काएपछि मात्रै छाउपडी प्रथाको अन्त्य हुन्छ : राष्ट्रपति भण्डारी


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले समाजमा विकृति र विसङ्गति नहोस् भन्नका लागि आफ्नो ठाउँबाट नै परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।

आज बुधवार सुदूरपश्चिम प्रदेशबाट तालिमका लागि काठमाडौं आएका प्रतिनिधिसँगको भेटघाटमा उहाँले यस्तो बताउनुभएको हो ।

राष्ट्रपति भण्डारीले पश्चिममा छाउपडीको समस्याले विभिन्न घटना निम्त्याइरहेको भन्दै त्यसको समाधान गर्न सबैभन्दा पहिला आफ्नो दिमागको छाउपडीको गोठ भत्काउन आवश्यक रहेको बताउनुभयो । राष्ट्रपति भण्डारीले कतिपय ठाउँमा छाउपडीकै कारण महिलामाथि आपराधिक घटना भइरहेकाले दिमागमा जरो गाडेर बसेको छाउ गोठ भत्काएपछि मात्रै छाउपडी प्रथाको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारी भन्नुहुन्छ, ‘यो छाउपडी त एउटा वैज्ञानिक प्रणाली हो मानव शरीरको । त्यो नभइकन सन्तान पनि जन्मिँदैन । तर त्यो कुरालाई पनि यस्तो अन्धविश्वासले जगडेको छ, त्यसबाट पनि धेरै घटना भएका छन् । शारीरिक दुःख त अवश्य हुन्छ । अझै बाहिर बस्नु पर्दा कस्तो पिडा होला । सर्पले डस्नेदेखि अपराधिक सोच भएकाहरूबाट आक्रमण हुने अनेक प्रकारको दुःख हुने र प्रतिष्ठामा आँच आउने गरेको छ । त्यसलाई हामीले हटाउन जरुरी छ । त्यो एकै पटक सम्भव छैन । सरकार जान्छ गोठ भत्काइदिएर आउने तर सरकारका प्रतिनिधिहरू सधैँ बसिरहँदैनन् । फेरि गोठ बनाइहाल्ने । दिमागमा जरो गाडेर बसेको छाउ गोठ भत्काएपछि मात्रै छाउपडी प्रथाको अन्त्य हुन्छ ।’

कार्यक्रममा राष्ट्रपति भण्डारीले आजको आवश्यकता भनेको विद्यालय शिक्षामा ठूलो सुधार गर्नुपर्ने रहेको बताउनुभयो । उहाँले युवा, युवतीबीच हुने अपहरण, बलात्कारजस्ता विकृतिलाई समाजबाट न्यूनीकरण गर्न समाजिक सङ्घ–संस्थाहरूको ठूलो भूमिका रहेकाले उनीहरूले सरकारसँग मिलेर समाजका विकृति, विसङ्गतिहरू समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रपति भण्डारीले बालबालिकाले सर्वाङ्गीण विकास पाउन र सकुशल अगाडि बढ्न शिक्षामा अग्रगामी कदम चाल्न आवश्यक रहेको बताउनुभयो । कतिपय सरकारी विद्यालयमा पूर्वाधार कमजोर रहेको र गुणस्तर, शिक्षक र शिक्षकहरूको वृत्ति र तालिमको समस्या रहेकाले त्यसलाई समाधान गर्दै लैजानुपर्ने उहाँले बताउनुभयो । विद्यालयमा सुशिक्षा दिएमा मात्रै विकृतिका चाङ न्यूनीकरण गर्न सकिने उहाँले उल्लेख गर्नुभयो । महिला र पुरुष भएर नै संसार चल्ने भन्दै राष्ट्रपति भण्डारीले समाजमा महिलाप्रतिका कुसंस्कारलाई हटाएर पुरुषसरह नै अधिकार दिनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रपति महिला उत्थान कार्यक्रम महिलाका लागि सफल भइरहेकाले यस्तै अन्य कार्यक्रम ल्याएर समाज विकासमा लाग्नुपर्ने बताउनुभयो ।