अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अरुण तेस्रो आयोजना ट्रान्समिसन लाइनको मुआब्जा माग सरोकार समिति गठन

अरुण तेस्रो आयोजना ट्रान्समिसन लाइनको मुआब्जा माग सरोकार समिति गठन


संखुवासभा – संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो आयोजनाको ट्रान्समिसन लाइनको मुआब्जा माग गर्दै सरोकार समिति गठन भएको छ ।

अरुण तेस्रो जलविद्युत् आयोजनाअन्तर्गत ४०० केभी प्रसारण लाइनको मुआब्जा माग गर्दै अरुण सरोकार समिति गठन भएको हो ।

ट्रान्समिसन लाइन संखुवासभाको चिचिला गाउँपालिका दिदिङ पुखुवाबाट सुरु भई डाँडागाँउ, आहाले, छ्याङकुटी हुँदै खाँदबारी नगरपालिकाको सेकाहा, मानेभञ्याङ, माथिल्लो चेवा, पिप्ले रयले बेंशी हुँदै भोजपुरको  षडान्नद नगपालिकाबाट जाने सतलज कम्पनीले जनाएको छ ।

अरुण तेस्रो आयोजनाका लागि संखुवासभामा ४३ वटा ट्रान्समिसन लाइन रहने छन् ।

खाँदबारी नगरपालिका–३ स्थानीयहरुको भेलाले अध्यक्षमा किशोरकुमार गुरुङको अध्यक्षतामा ३९ सदस्यीय ट्रान्समिसन लाइन मुआब्जा सरोकार समिति गठन गरेको छ । ट्रान्समिसन लाइन चिचिला गाउँपालिका १, २ र ३ हुँदै  खाँदबारी नगरपालिका ४, ३, २ र १ र ८ नम्बर वडा हुँदै भोजपुर लगिनेछ ।

ट्रान्समिसन लाइनले आठवटा वडाभित्रका करीब ५९४ घरधुरीको जग्गा अधिग्रहण गर्नेछ। जग्जाधनीहरुलाई मुआब्जावापत उचित क्षतिपूर्ति दिनुपर्ने भेलाको माग छ।  अरुण तेस्रोले अहिले ट्रान्समिसन लाइन टावरले करीब ४६ मिटर जग्गा टावरले कभर गर्छ ।

अरुण तेस्रो जलविद्युत् आयोजनाको लागि अहिले सडक, ड्याम साइड, पावर हाउस, सुरुङ मार्ग निर्माणको कार्य धमाधम भइरहेको छ । ट्रान्समिसन लाइन संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिराहा, धनुषा हुँदै मोहत्तरी हुँदै भारत पुग्ने सतलज कम्पनीले जनाएको  छ ।

संखुवासभा जिल्लाको मकालु गाउँपालिकामा–५ नुमको फ्याक्सीन्दामा ड्याम साइड निमार्ण भइरहेको छ भने पावर हाउस चिचिला गाउँपालिका दिदिङको पुखुवामा  निर्माण भइरहेको छ । अरुण तेस्रो आयोजनाको क्षेत्रभित्र पर्ने घर तथा जग्गा अधिग्रहणका काम सकिएको जानकारी दिइएको छ । संखुवासभा जिल्लामा दुई अर्ब भन्दामाथि रकम मुआब्जा बाँडिसकिएको छ ।