काठमाडौं– झापा देशैभरी एमालेका जिल्ला अधिवेशन भइरहँदा नेतृत्वको दाबी गर्नेहरु पनि उसै गरी बढेका छन् । कतिपय ठाउँमा निर्वाचन र कतिपय ठाउँमा सर्वसम्मती हुने सम्भावना उस्तै छ । सबैको चासोको रुपमा रहेको अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा के कसरी नेृतत्व चयन होला भन्ने सबैको चासोको बिषय बनेको छ ।
अध्यक्ष ओलीले काठमाडौंस्थित पार्टी कार्यलयबाट भर्चुअल उद्घाटन गरेर अधिवेशनको उद्घाटन गरिसक्नु भएको छ । भोली चयन हुने नेतृत्वका लागि झापाबाट सभासद्ध दिपक कार्कीको एकल दाबी छ । कार्कीको नाममा जिल्ला देखि केन्द्र स्तरका नेताहरुले सहमती जनाएका छन् ।
विगतमा तिक्त सम्बन्ध भएका एमाले नेताहरु पनि अहिले कार्कीलाई अध्यक्ष बनाउन लागेपछि जिल्लामा विगतमा रहेको व्यक्तिको टकराव सेलाएको जिल्ला कमिटीका एक् सदस्य बताउछन् । ‘दिपक कार्कीको विरुद्ध अहिलेसम्म कसैले पनि उम्मेद्वारी घोषणा नगर्नुको अर्थ पार्टी भित्र उहाँ सर्वसम्मत हो । विगतका तिता सम्बन्धबाट भएको क्षती सबै नेताले महसुष गरेको देखिन्छ’ ति सदस्यले भने ‘हामी भोली कार्कीलाई सर्वसम्मत अध्यक्ष बनाएर झापामा एमाले एक ढिक्का छ भन्ने सन्देश दिनेछौं ।’
२०६४ सालको संविधान सभा निर्वाचनमा झापाका छ वटा क्षेत्रमा एमाले पराजित हुँदा कार्कीले क्षेत्र नं ६ बाट एमालेको शाख जोगाउनुभएको थियो । २०७० सालको निर्वाचनमा पनि कार्कीले सोही क्षेत्रबाट संविधानसभा निर्वाचनमा बिजयी हुनुभएको थियो । कार्की २०५४ सालको निर्वाचनमा तत्कालिन गौरादह गाविसको अध्यक्ष निर्वाचित हुनुभएको थियो ।
२०७४ सालमा निर्वाचन क्षेत्र निर्धारण समितिको सिफारिसमा झापामा ५ वटा क्षेत्र मात्र सिफारिस गरेपछि कार्की भूगोलविहीन बन्नुभएको थियो । उक्त क्षेत्राट २०७४ सालको निर्वाचनमा अध्यक्ष केपी शर्मा ओली बिजयी हुनुभएको थियो ।
२०७० सालको निर्वाचनमा रविन कोइराला सांसद भएपछि अध्यक्ष पद त्यागेर कार्कीलाई कार्यवाहक बनाइएको थियो । तर लगत्तै भएको अधिवेशनमा सचिव चिन्तन पाठकलाई अध्यक्ष बनाएपछि कार्कीको अध्यक्ष हुने चाहनामा ब्रेक लागेको थियो । त्यसपछिको अधिवेशनमा पनि पाठकलाई नै अध्यक्ष बनाइएको थियो ।
दशौं महाधिवेशन अघि झापाली नेताहरु अग्नि खरेल र चिन्तन पाठक सहितको सहमतीमा ओली निवास बालकोटमा कार्कीलाई अध्यक्ष बनाउने सहमति भएको थियो । त्यही दिन पाठकलाई प्रदेश नं १ को सचिव बनाउने सहमति भएको थियो । कार्कीका समकालिन झापाली नेताहरु खरेल स्थायी कमिटी सदस्य तथा झापा इन्चार्ज, देवेन्द्र दाहाल पोलिटव्यूरो सदस्य तथा स्थानीय तह विभाग प्रमुख,कोइराला केन्द्रीय सदस्य तथा झापा सहइन्चार्ज, दमक नगरपालिकाका मेयर रोमनाथ ओली केन्द्रीय सदस्य तथा झापा सहइन्चार्ज हुनुहुन्छ ।
कार्कीका भाइ हिक्मत स्थायी कमिटी सदस्य तथा प्रदेश एकका सहइन्चार्ज हुनुहुन्छ । दिपक कार्की जिल्ला अध्यक्ष भएपछि झापाका एमालेको पहिलो पुस्ताका नेताको व्यवस्थापन भएको छ ।






प्रतिक्रिया