अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनावपछि एमालेले बहुमतको सरकार बनाउछ : अध्यक्ष ओली

चुनावपछि एमालेले बहुमतको सरकार बनाउछ : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेको आजबाट जिल्ला अधिवेशन सुरु भएको छ । आज (शुक्रबार) केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअलमार्फत जिल्ला अधिवेशनको उद्घाटन गर्नुभएको थियो । उद्घाटनपछि अध्यक्ष ओलीले काठमाडौं र काभ्रेको अधिवेशन उद्घाटन गर्नुभएको थियो ।

तीनवटा कार्यक्रममा सम्बोधन गर्दै ओलीले कानून र विधिविपरीत एमालेको सरकार ढालेको र पार्टी फुटाएको आरोप लगाउनुभयो ।

सत्तारुढ गठबन्धन र गठबन्धनको सरकारलाई प्रतिगामीको संज्ञा दिँदै उहाँले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर सरकार बनाउने दाबी गर्नुभयो ।

तीनवटै सम्बोधनमा एउटै भाषण गर्नुभएका अध्यक्ष ओलीले आफूहरूसँग जनताको साथ रहेकाले आगामी निर्वाचनमार्फत पहिलो राजनीतिक दल बनेर सरकार बनाउने बताउनुभो ।

‘हामीलाई जनताको कवच प्राप्त छ’, उहाँले भन्नुभयो, ‘हामी चुनावको प्रतिक्षामा छौँ । त्यसपछि हामी शक्तिशाली भएर सरकार बनाउने छौँ ।’

आगामी निर्वाचनमा एमाले एक्लै चुनौतीको सामना गर्न तयार रहेको उहाँको भनाइ छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारलाई प्रतिगामीको सरकारको संज्ञा दिँदै उहाँले पाँचमुख भएका सरकारले तुइन काटेर जनतालाई नदी खसाल्दा पनि बोल्न नसकेको आरोप लगाउनुभयो ।

राज्यका सबै अंग आ–आफ्नो मर्यादामा बस्नुपर्नेमा जोड दिँदै उहाँले सरकार जनताको पक्षमा नरहेको बताउनुभयो । जनताको आदेशविना अन्यत्रबाट सरकार बनेको भन्दै ओलीले भन्नुभयो, ‘सरकार बन्यो संसदले समेत पनि थाहा पाएन ।’

सरकार गठनसम्बन्धमा सर्वोच्च अदालतले दिएको आदेशप्रति उहाँले खरो टिप्पणी गर्नुभयो । आफ्नो पार्टीको हालै सम्पन्न १०औँ अधिवेशनको अध्ययनविना नै टिकाटिप्पणी भइरहेको बताएका ओलीले  अधिवेशनले पारित गरेका दस्तावेजले लिएको नीति र सिद्धान्तबारे अध्ययनविना नै विभिन्न टिकाटिप्पणी भइरहेको बताउनुभयो ।

एमालेविरुद्ध हल्ला फिँजाइएको भन्दै उहाँले भ्रममा नपर्न कार्यकर्ता र आममानिसलाई आग्रह गर्नुभयो । एमालेसँग अहिले पनि जनमत बढी रहेकोले गर्दा उहाँले एकातिर अरु पार्टी र अर्कोतिर एमाले राख्दा पनि एमाले पनि शक्तिशाली रहेको बताउनुभयो ।