अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेलाई कमजोर पार्ने षडयन्त्र सफल हुँदैन : विष्णु पौडेल

एमालेलाई कमजोर पार्ने षडयन्त्र सफल हुँदैन : विष्णु पौडेल


बुटवल –  नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले एमालेलाई एकल्याउने र कमजोर पार्ने षडयन्त्र सफल हुन नदिने बताउनुभएको छ । उहाँले पार्टीलाई विभाजित गरेर कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने प्रयास असफल भएको बताउनुभयो ।

एमाले रुपन्देहीको नवौं जिल्ला अधिवेशनलाई शुक्रबार भैरहवामा सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘एमाले अन्य पार्टी भन्दा ठूलो भएर मात्र हुँदैन, एक्लै स्पष्ट बहुमत ल्याउनुपर्छ ।’ उहाँले धेरै जनताले पत्याएको तथा धेरै नेता कार्यकर्ता आबद्ध भएको पार्टी एमाले भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विचार, नीतिको हिसाबले यो देशको नेता एमाले हो । एमाले सर्वाधिक शक्तिशाली पार्टी हो ।’ नेता पौडेलले विभिन्न प्राविधिक कारणले एमाले प्रतिपक्षमा रहे पनि जनताको साथमा एमाले रहेको बताउनुभयो । पार्टीप्रति गर्व गरी अझ यसलाई शक्तिशाली र बलियो बनाउनुपर्ने उहाँको भनाइ थियो ।

‘एमाले र एमालेको जीवनमा यतिबेला धेरै ठूलो संकट आएको छ, सबै प्रहार र षडयन्त्रलाई परास्त गरेका छौं,’ उहाँले भन्नुभयो । रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका पौडेलले एमाले र एमालेको जीवनमा यतिबेला धेरै ठूलो संकट आएको बताउनुभयो । उहाँले परिवर्तनको संवाहक शक्तिको रूपमा एमालेले आफूलाई स्थापित गरेको बताउनुभयो ।

एमालेका सचिव, लुम्बिनी प्रदेशका इन्चार्ज तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले एमाले पुनः जिम्मेवारीमा आउने दाबी गर्नुभयो । उहाँले आम जनताले पार्टीप्रति गरेको विश्वासलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभयो ।

पार्टीका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले आजको कम्युनिष्ट पार्टीको ठूलो चुनौती भनेकै दलाल पूँजीवादबाट बच्नु भएको बताउनुभयो । उहाँले यसबाट बच्न सके क्रान्ति सफल हुने बताउनुभयो ।

एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पुरुषोत्तम घिमिरे, सचिव जगेश्वरदेवी चौधरीलगायतले बोल्नुभएको थियो । दुई दिनसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्वको चयन गर्ने छ ।