बैतडी – नेकपा एमालेका केन्द्रीय सदस्य तथा बैतडी जिल्ला इन्चार्ज पुरनसिंह दयालले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार अदालतको सेटिङ्गबाट भएको बताउनुभएको छ ।
नेकपा एमाले बैतडीको आठौं जिल्ला अधिवेशनमा सम्बोधन गर्दै उहाँले केही दिन पहिले प्रचण्डले सार्वजनिक रूपमै उक्त अभिव्यक्ति दिनुभएको हो । ‘प्रचण्डले अस्ति हामीलाई सहयोग गर्ने अदालतलाई हामी पनि सहयोग गर्छौं भन्नुभयो । यसले अदालतको मिलेमतो रहेको प्रस्ट हुन्छ,’ उहाँले भन्नुभयो ।

आसन्न तीनवटै तहको चुनावमा एमालेलाई भोट दिई बहुमतका साथ सरकार निर्माणमा सहयोग गर्न उहाँले सबैसँग आग्रह गर्नुभयो ।
कार्यक्रममा पार्टीका अर्का केन्द्रीय सदस्य एवं प्रदेशसभा सांसद लिलाधर भट्टले वर्तमान सरकार जनहित विपरीतका काम गरिरहेको आरोप लगाउनुभयो । प्रदेश सरकार र केन्द्र सरकार सबै कामहरूमा फेल भैसकेको उहाँको भनाइ थियो ।
केही समयअघि बैतडीमा भएको कांग्रेसको जिल्ला अधिवेशनलाई लक्षित गर्दै उहाँले भन्नुभयो ‘हाम्रो पार्टी रक्सीको बोतल प्रहार गरी कार्यकर्ताको टाउको फुटाएर, गाउँगाउँमा देउसी भैलो खेल्दै भोटमाग्ने अधिवेशन गर्दैन । सबै वडा र पालिकाहरूको अधिवेशन सर्वसम्मत चयन गरेका छौं ।‘
कार्यक्रममा प्रतिनिधिसभा सांसदसमेत रहेका पार्टी प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारीले नेकपा एमाले पार्टी मात्रै जनभावनालाई स्थापित गर्ने राजनीतिक दल भएकाले आफ्नो पार्टीभित्र गोलबद्ध हुन सबैलाई आग्रह गर्नुभयो । आसन्न निर्वाचनमा एमालेलाई बहुमत प्रदान गर्न उहाँको आग्रह छ ।







प्रतिक्रिया