अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी केन्द्रको महाधिवेशनपछि माओवादी नेताहरुमा पनि संक्रमण पुष्टि

माओवादी केन्द्रको महाधिवेशनपछि माओवादी नेताहरुमा पनि संक्रमण पुष्टि


काठमाडौं – माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनपछि पार्टीका नेता कार्यकर्ताहरुमा कोरोना संक्रमण देखिन थालेको छ । माओवादीको पुस ११ देखि १८ गतेसम्म प्रज्ञा भवन कमलादीमा महाधिवेशन चलेको थियो ।

माओवादी अध्यक्षमा पुनः निर्वाचित हुनुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिन जाने नेता-कार्यकर्ताहरुमा धेरैजसोलाई कोरोनाभाइरस संक्रमण भएको छ । अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्ल पनि संक्रमित भएका छन् ।

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट फर्किएका नेता-कार्यकर्ताहरु धमाधम अस्वस्थ हुन थालेपछि पार्टीको केन्द्रीय समिति बैठक लगायत सबै गतिविधि बन्द गरेको थियो । माओवादी केन्द्रीय कार्यालय सिल गरिएको भोलिपल्टै अध्यक्ष प्रचण्डमा लक्षण देखिएको थियो । प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठमा संक्रमण पुष्टि भइसकेको छ ।

त्यस्तै अध्यक्ष प्रचण्डलाई बधाई दिन जानुभएका वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटा, वाइसिएल अध्यक्ष सुमन देवकोटा, वाइसिएल नेता तथा हाल केन्द्रीय सदस्य सुवोध शेर्पाली, वागमती प्रदेश अध्यक्ष तथा प्रचण्डका पूर्व अंगरक्षक प्रकाश पाण्डे संक्रमित भएका छन् ।

त्यसैगरी नेताहरु हरिबोल गजुरेल, मात्रिका यादव, डोरप्रसाद उपाध्यायमा पनि संक्रमण पुष्टि भइसकेको छ। त्यस्तै अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंहमा पनि संक्रमण देखिएको छ ।

महाधिवेशनबाटै संक्रमण फैलिएको हुने सक्ने आशंका गरिएको छ । सबै नेता-कार्यकर्ताहरुमा एकै खालको लक्षण देखिएको छ । माओवादीले आन्तरिक रुपमा सबैलाई परीक्षण गर्न सुझाएको छ ।