झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकास गर्न नेकपा एमाले चाहिएको बताउनुभएको छ । उहाँले झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिलेमा वाटर किङडम पार्कको आज उद्घाटन गर्नुहुँदै एक वर्षपछि एमालेको सरकार आउने र त्यसपछि पाँच वर्ष सत्तामा रहँदा विकास निर्माणको अहिलेसम्म नभएको लहर ल्याउने बताउनुभयो ।
उहाँले आउँदो निर्वाचनमा जनादेशबाट एमालेको एकल बहुमतको सरकार स्थापित हुने समेत दाबी गर्नुभयो। उहाँले आफू प्रधानमन्त्री भएको बेला सुरु गरिएका हजारौँ विकास निर्माणका आयोजना अहिलेको सरकारले बजेट नदिएर ठप्प तुल्याएको आरोप लगाउनुभयो ।
प्रदेश नं १ पर्यटकीय दृष्टिले समृद्ध रहेको चर्चा गर्दै उहाँले पर्यटन विकासका लागि पचासौँ करोड लगानी हुनु खुसीको विषय भएको बताउनुभयो। कोभिडका कारणले केही समय अन्योल सिर्जना हुँदा निराश नहुन भन्दै उहाँले समयक्रममा पर्यटक आउने दिनको प्रतीक्षा गर्न आग्रह गर्नुभयो । दुई बिघा जग्गामा फैलिएको वाटर पार्कमा स्थानीय उद्यमी राजकुमार सङ्ग्रौला र उहाँको परिवारको रु.५० करोड लगानी रहेको छ ।









प्रतिक्रिया