अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिममा बढ्दै कोरोना संक्रमण दर

सुदूरपश्चिममा बढ्दै कोरोना संक्रमण दर


धनगढी – सुदूरपश्चिममा कोरोना संक्रमण दर बढ्न थालेको छ। स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पुस २२ गते यता प्रदेशमा निरन्तर संक्रमण दर उच्च छ।

पुस २२ गते सुदूरपश्चिममा १२० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पुस ३२ गते १५८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा पुस २४ गते १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

पुस २५ गते केही घटेको संक्रमण दर २६ गते देखि फेरी उकालो लागेको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पुस २५ गते ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तर, पुस २६ गते संक्रमण दर बढेर १५९ जनामा संक्रमण पुष्टि भएको थियो । यसैगरी पुस २७ गते (मंगलबार) १९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

भारतमा रहेका नेपालीहरू स्वदेश फर्कन थालेपछि संक्रमणदर बढ्न थालेको हो । भारतमा कोरोना संक्रमणदर बढेपछि त्यहाँ कार्यरत नेपाली धमाधम स्वदेश फर्कन थालेका छन्,’ सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले भन्नुभयो, ‘जसका कारण कोरोना संक्रमण दर बढेको देखिन्छ ।’ उहाँले समुदाय स्तरमा भने कोरोना संक्रमण खासै नदेखिएको बताउनुभयो । ‘अहिले भारतबाट नेपाल आउने नेपालीको संख्या बढ्नथालेको छ,’ प्रवक्ता कार्कीले भन्नुभयो, ‘उनीहरूको स्वास्थ्य परीक्षण गर्दा संक्रमणदर बढेको देखिन्छ, समुदाय स्तरमा भने संक्रमण फैलिएको पाइएको छैन ।’

उहाँले भारतबाट आउने नागरिकलाई व्यवस्थित गर्न सके समुदाय स्तरमा फैलिने कोरोना संक्रमण केही हद सम्म रोक्न सकिने बताउनुभयो । ‘भारतबाट आएका मध्य सङ्क्रमित भएका व्यक्तिले आइसोलेसनमा बस्ने र स्वास्थ्य व्यक्तिले स्वस्फुर्तरुपमा १० दिन सम्म क्वारेन्टिनमा बस्ने गरिदिए समुदाय स्तरमा संक्रमण फैलनबाट रोक्न सकिन्थ्यो,’ उहाँले भन्नुभयो, ‘तर क्वारेन्टिनको पालना खासै भएको पाइँदैन, यो चिन्ताको विषय बनेको छ।’

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिचममा मंगलबार थपिएका कोरोना संक्रमितसँगै कोरोना संक्रमण पुष्टि हुनेको कुल सङ्ख्या ४९ हजार २२५ पुगेको छ । निर्देशनालयका अनुसार मंगलबार प्रदेशबाट ५३ जना कोरोना मुक्त भएका छन् । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या ४८ हजार ५२ पुगेको छ।

सुदूरपश्चिममा मंगलबार सम्म कोरोना संक्रमणका कारण ६१४ जनाको मृत्यु भएको छ। मंगलबार भने कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ। सुदूरपश्चिममा मंगलबार २०९ जना सक्रिय सङ्क्रमित रहेका छन्।