अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपाल निकटको कर्मचारी संगठन एमाले कर्मचारी संगठनमा विलय

माधव नेपाल निकटको कर्मचारी संगठन एमाले कर्मचारी संगठनमा विलय


काठमाडौँ – नेकपा एकीकृत समाजावादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल निकटका कर्मचारीले बनाएको संगठन एमाले निकटको नेपाल निजामति कर्मचारी संगठनमा विलय भएको छ ।

नेकपा (एस) निकट नेपाल निजामति कर्मचारी संगठनका अध्यक्षसहितका पदाधिकारी र सदस्य एमाले निकट संगठनमै फर्किएका छन् । एमाले निकट मूल संगठनमै फर्किए पछि माधव नेपाललाई ठूलो धक्का लागेको छ ।

संगठन विलय गरेसँगै संगठनका अध्यक्ष केदार देवकोटासँगै संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्दै रेवन्त गौतमले जिल्ला र विभागीय अधिवेशनमा जुट्न अपिल गर्नुभएको छ ।

विभाजित भएको संगठनका अध्यक्ष रेवन्त गौतमसहित वरिष्ठ उपाध्यक्ष मोहन गिरी र अधिकांश पदाधिकारीसहित सो संगठन नेपाल निजामति कर्मचारी संगठनमा विलय भएको हो । नेपाल निजामति कर्मचारी संगठन ११औं राष्ट्रिय महाधिवेशन आयोजक समितिका संयोजक केदार प्रसाद देवकोटा र एसनिकट संगठनका अध्यक्ष तथा हाल सचिवालय सदस्य गौतमले संयुक्त विज्ञप्ति जारी गर्दै माघ १४ र १५ मा हुने महाधिवेशन सम्पन्न गर्न आह्वान गर्नुभएको छ ।

माधव नेपाल (एस) निकट संगठनका संस्थापक अध्यक्ष गौतम, वरिष्ठ उपाध्यक्ष मोहन गिरी, उपमहासचिव रामचन्द्र अधिकारी, सचिव ओम कठायत एमाले निकट संगठनमै फर्किनुभएको हो ।

त्यस्तै केन्द्रीय सदस्यहरु अमर गिरी, पदमराज जोशी, रामचन्द्र पण्डित, शान्ति विष्ट, लक्ष्मी योगी, अमृता रावत, जयदेश जोशी लगायत २१ जना केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष तथा विभागीय सदस्यसमेत ३०१ जनाले नेकपा एस परित्याग गरेको गौतमले जनाउनुभयो ।