काठमाडौँ – महानगरीय ट्राफिक महाशाखाले बुधबारदेखि ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभु-पेको किअस्क मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने व्यवस्थाको सुरुवात गरेको छ ।
ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र प्रभु-पेका अध्यक्ष कुसुम लामाले बुधबार संयुक्त रूपमा नगद पैसा हालेर ट्राफिक जरिवाना तिर्न सकिने प्रविधी प्रभु-पेको किअस्क मेसिन उद्घाटन गरेका हुन् ।
एसएसपी जोशीले ट्राफिक सेवालाई थप प्रविधिमैत्री बनाउदै आमसेवाग्राहीलाई ट्राफिक जरिवाना तिर्न सरल एव सहज होस् भन्ने उद्देश्यले यो मेसिनको जडान गरेको बताउनुभयो । उहाँले किअस्क मेसिनमा सिधै नगद हालेर जरिवाना भुक्तानी गर्न सकिने बताउँदै यसले बैंकमा गएर लामो समय लाइनमा बस्ने झन्झटबाट मुक्त हुने र समयको समेत वचत हुने धारणा व्यक्त गर्नुभयो ।
ट्राफिक महाशाखाले जरिवाना भुक्तानी गर्ने प्रविधिलाई क्रमशस् परिस्कृत गर्दै आजैदेखि मेसिनमा नगद प्रयोग गरी जरिवाना तिर्न सकिने सेवा सुरु गरेको छ ।
प्रभु-पेका अध्यक्ष कुसुम लामाले ट्राफिक प्रहरी महाशाखासँग सहकार्य गरी किअस्क मेसिन जडान गरी सेवा विस्तार गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो ।
कसरी तिर्ने मेसिनबाट जरिवानारु
सर्बप्रथम प्रभु-पेको किअस्क मेसिन (KIOSK) मा रहेको ट्राफिक प्रहरीको लोगोमा क्लिक गरी स्क्रिनमा देखिने चिट नम्बर र आर्थिक वर्ष टाइप गरी नेक्सट बटन थिच्चनुहोस् । त्यसपछि देखिने चिट नम्बरलगायतको सूचना चेक गरी नेक्सट बटनमा थोचेर तिर्नुपर्ने रकम मेसिनमा हालेर भुक्तानी गर्नुहोस्। भुक्तानी सफल भएपश्चात प्रिन्ट भएको रसिदसहित ट्राफिक कार्यालयमा गई आफ्नो कागजपत्र लिन सकिन्छ ।
कोरोना संक्रमणको समयमा ट्राफिक कार्यालय र बैंकमा हुने अनावश्यक भिडभाडमा कमी आउने र कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्नसमेत यो मेसिनले महत्वपूर्ण भूमिका खेल्ने ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं एसपी सञ्जीव शर्मा दासले बताए।







प्रतिक्रिया