अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन सरकार टिकाउन राज्यस्रोतको दुरुपयोग गरिरहेको छ : यामलाल कँडेल

गठबन्धन सरकार टिकाउन राज्यस्रोतको दुरुपयोग गरिरहेको छ : यामलाल कँडेल


सुर्खेत – नेकपा एमालेको कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले प्रदेश सरकारले गठबन्धन टिकाउन राज्यको स्रोत साधनको दुरुपयोग भइरहेको आरोप लगाउनुभएको छ ।

आज कर्णाली प्रदेशसभाको ९औं अधिवेशनको पहिलो बैठकमा उहाँले गठबन्धन टिकाउन झ्याल झ्यालमा मन्त्रालयका साइन बोर्डहरु टाँसिएको टिप्पणी गर्नुभयो । ‘सरकार व्यवहारमा नभई अभिलेखमा भेटिन थालेको छ, दुई महिना बित्यो तर न मन्त्रिपरिषले पूर्णता पाएको छ, नत केही अनुभूति गर्ने गरी काम गर्न सकेको छ’ उहाँले भन्नुभयो, ‘गठबन्धन सरकार टिकाउन राज्यको स्रोत-साधनको दुरुपयोग गरिरहेको छ।’

सरकारले परिणाममुखी भन्दा वितरणमुखी बजेट र योजना ल्याएको बताउनुभयो । उहाँले कुन मन्त्रालयका कति योजना वितरणमुखी छन् त्यसको संसदमा जानकारी दिन माग गर्नुभएको छ । ‘प्रदेश सरकारले अहिले सना–सना टुक्रे योजना बाँड्दै हिँडिरहेको छ । यस्ता योजनाको कसरी अनुगमन गरिन्छ ? कस्तो परिणाम दिन्छ ? सरकारी स्रोत साधनलाई प्रयोग गरेर पार्टीका कार्यकर्ता बढाउन खुलेआम प्रयोग गर्न मिल्छ कि मिल्दैन ?’ उहाँले प्रश्न गर्नुभएको छ ।

सरकारले वितरण गरिरहका योजना समाजका लागि नभई नेता, कार्यकर्ताको झोलामा र घरमा जाने गरेको उहाँले बताउनुभयो ।

नेता कँडेलले प्रदेश सरकारले सञ्चालनमा ल्याएको मुख्यमन्त्री रोजगार कार्यक्रममा अनियमितता भएको समेत बताउनुभयो ।

पूर्वाधार विकास कार्यक्रमको कार्यविधि पनि मुख्यमन्त्री केन्द्रित बनाएको भन्दै उहाँले आपत्ति जनाउनुभएको छ । उक्त कार्यक्रम वितरणमुखी भएको भन्दै मुख्यमन्त्री जीवनबहादुर शाहीको उहाँले ध्यानाकर्षण गराउनुभएको छ ।

नेता कँडेलले प्रतिपक्षलाई ‘वाइपास’ गर्न खोजेको आरोप समेत लगाउनुभयो ।

बैठकमा माओवादी केन्द्रको तर्फबाट सांसद ठम्मर विष्ट, कांग्रेसको तर्फबाट यज्ञ बिसीले र नेकपा एकीकृत समाजवादीको तर्फबाट देवी ओलीले आफ्नो भनाइ राखनुभएको थियो ।

बैठक माघ २ गतेसम्मका लागि स्थगित गरिएको छ ।