अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा उपभोक्ता जागरण अभियान गठन

झापामा उपभोक्ता जागरण अभियान गठन


झापा – नागरिक समाजका अगुवा प्रतिनिधिको आज विर्तामोडमा सम्पन्न भेलाले उपभोक्ता जागरण अभियान नेपालको झापा जिल्ला तदर्थ समिति गठन गरेको छ ।

उपभोक्ताको हकहित र अधिकारका लागि सशक्त अभियान सञ्चालन गर्ने उद्देश्यले गठन भएको समितिको अध्यक्षमा सञ्चारकर्मी मोहन काजी सर्वसम्मत चयन हुनुभएको छ । भेलाले समितिको उपाध्यक्षमा मेचीनगरका नीलकण्ठ तिवारी, सचिवमा विर्तामोडका विशाल थापा, सहसचिवमा विर्तामोडकी अनिता दाहाल र कोषाध्यक्षमा अर्जुनधाराका शेखरनाथ अधिकारीलाई चयन गरेको छ ।

विधानबमोजिम ११ सदस्यीय जिल्ला कार्य समितिको सदस्यमा हल्दिबारीकी कमला शिवाकोटी, मेचीनगरका ज्ञानेन्द्र निरौला, अर्जुनधाराका सन्तबहादुर तामाङ, मेचीनगरका अर्जुन कार्की, भद्रपुरका राजेन पौडेल र अर्जुनधाराका धर्मेन्द्र गुप्ता चयन हुनुभयो । समितिको सल्लाहकारमा विर्तामोडका कुलप्रसाद ओडारी, मेचीनगरका छविलाल भण्डारी र भद्रपुरकी मञ्जु पोखरेललाई भेलाले चयन गरेको छ ।

समितिका पदाधिकारी तथा सदस्य सञ्चार, वाणिज्य, जेसिज, शिक्षण, यातायातलगायतको क्षेत्रका अनुभवी सामाजिक अभियन्तामध्येबाट छानिनुभएको छ । उपभोक्ता जागरण अभियान नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीले नेपालमा उपभोक्ताको अधिकार र विद्यमान अवस्थाको चर्चा गर्दै अभियानले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा धारणा राख्नुभएको थियो ।

अभियानका प्रदेश नं १ का अध्यक्ष घिमिरेले नेपालमा नागरिक सचेतनाको अभावमा उपभोक्ताको अधिकार कुण्ठित हुने गरेको हुँदा सशक्त नागरिक आन्दोलनको खाँचो रहेको बताउनुभयो । नवनियुक्त जिल्ला अध्यक्ष काजीले लोकतन्त्रमा नागरिक सर्वोच्चता सर्वोपरि रहेको हुँदा उनीहरूको हित र संविधानप्रदत्त उपभोक्ता अधिकारको कार्यान्वयनका लागि समितिले इमानका साथ नागरिक सचेतना अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले समितिका सबै गतिविधि पारदर्शी र लोकतान्त्रिक हुने समेत बताउनुभयो ।