अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश-१ : पाँच दिनभित्र होल्डिङ सेन्टर बनाइसक्न मुख्यमन्त्री राईको निर्देशन

प्रदेश-१ : पाँच दिनभित्र होल्डिङ सेन्टर बनाइसक्न मुख्यमन्त्री राईको निर्देशन


विराटनगर – प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्र राईले पाँच दिनभित्र होल्डिङ सेन्टर तयार गर्न निर्देशन दिनुभएको छ।

विराटनगर जुटमिल परिसरको खाली जमिनमा निर्माण भइरहेको होल्डिङ सेन्टरको ७५ प्रतिशत काम पूरा भइसकेको छ । कोरोना संक्रमति बढ्दै गएपछि मुख्यन्त्री राईले बिहीबार नाका तथा होल्डिङ सेन्टर अनुगमन गर्दै पाँच दिनभित्र सक्न निर्देशन दिनुभएको हो ।

नेपाली सेनाले दुई महीनाभित्र बनाइ सक्ने बताएपछि मुख्यमन्त्री राईले एक साताभित्र २०० जना मात्रै अट्ने भए पनि तयार गर्न निर्देशन दिनुभएको छ । तर, नेपाली सेनामार्फत काम गरिरहेको हनुमान कन्स्ट्रक्सन कम्पनीले १०० जना अट्ने होल्डिङ सेन्टर बनाउन पाँच दिन र २०० जना अट्ने बनाउन दुई साता लाग्ने बताएको थियो ।

संघीय सरकारले रकम निकासामा ढिला गरेकाले होल्डिङ सेन्टर निर्माण ढिला भएको नेपाली सेनाले जनाएको छ । बत्ती तथा पानीको व्यवस्था गरिदिन समेत सेनाले मुख्यमन्त्रीसँग आग्रह गरेको छ । पानीबत्ती तथा जनशक्ति भए पाँच दिनमा होल्डिङ सेन्टर तयार गर्ने प्रतिबद्धता जनाएको छ।

अहिले सीमा नाकामा कोरोना पोजेटिभ रिपोर्ट आएकाहरूलाई नेपालतर्फका भए परिवारको जिम्मा लगाएर मात्रै छाड्ने गरिएको छ। अनुगमनाका क्रममा मुख्यमन्त्री राईले रानी नाकामा कडा गर्न समेत प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई निर्देशन दिनुभएको छ। प्रमुख जिल्ला अधकारी दाहालले पनि भारतबाट आउनेसँग मात्रै नभई नेपालबाट भारततर्फ जानेको पनि खोप कार्ड अनिवार्य गर्ने बताउनुभयो ।  आउनेबाट मात्रै होइन जानेमा पनि जोखिम बढेकाले नियन्त्रण गर्न दुर्वतर्फ खोप कार्ड अनिवार्य गर्ने उहाँले बताउनुभयो।

कोरोना नियन्त्रणमा प्रदेश सरकारको तयारी फितलो भएको भनेर विरोध हुन थालेपछि मुख्यमन्त्री राईले आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की, सामाजिक विकासमन्त्री जयराम यादवसहितको टोली लिएर उहाँ सो क्षेत्रमा पुग्नुभएको हो।

समयमै होल्डिङ सेन्टर तयार नहुँदा नाकामा परीक्षण गरिएका व्यक्तिहरू जतासुकै हिड्ने गरेका छन् । पोजेटिभ रिपोर्ट आएकाहरू पनि परिवार नआएसम्म सडक किनारमै बस्ने गरेका छन्।