अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाजुरामा आइसोलेसन कक्ष नहुँदा संक्रमितलाई पालमा राखियो

बाजुरामा आइसोलेसन कक्ष नहुँदा संक्रमितलाई पालमा राखियो


बाजुरा – बाजुरामा कोरोना संक्रमितका लागि आईसोलेसन कक्ष नहुँदा त्रिपाल भित्र राखिएको छ । कोल्टीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा गरिएको एन्टिजेन परीक्षणमा संक्रमित भएका एक जनालाई पाल भित्र राखिएको हो ।

बुढीनन्दा नगरपालिका–७ का करीब ३१ वर्षिया महेश कार्कीलाई एन्टिजेन परीक्षणबाट कोरोना संक्रमणको पुष्टि भएको थियो । बुधवार एन्टिजेन परीक्षणबाट संक्रमित भएका कार्कीलाई आइसोलेसन कक्ष नहुँदा पालभित्र राखिएको छ ।

स्वास्थय परीक्षण भएको दिनदेखि अहिलेसम्म खुला चौरको चिसो पालभित्र रहेको उहाँले बताउनुभयो ।  ‘घर जाउँ भने अपहेलना गर्छन, कोरोना भएको हल्ला बजारभरि छ’, उहाँले भन्नुभयो। संक्रमण भएको नगरपालिकालाई जानकारी दिए पनि नगरपालिकाले वास्ता नगरेको उहाँको गुनासो छ ।

नगरपालिकासँग बस्न र कपडा पातको ब्यवस्था गरीदिन आग्रह गरे पनि उल्टै नगरपालिकाका कर्मचारीले थर्काउँदै आफैँले व्यवस्थापन गर्ने भनेको कार्कीले बताउनुभयो ।

नगरपालिकमा आइसोलेन कक्ष नहुँदा संक्रमितलाई अहिले आयुर्वेदको भवन नजिकै पाल भित्र राखिएको छ। ईलाका प्रहरी कार्यालय कोल्टीले उपलब्ध गराएको पालमा बसिरहेको संक्रमितले बताएका छन्।

नगरपालिकाका स्वास्थ्य संयोजक जसी विकले भने नगरपालिकाले निमार्ण गरेका आइसोलेसन कक्ष टाढा भएका कारण संक्रमित पनि बस्न नमान्ने गरेका र स्वास्थ्यकर्मी पनि चेकजाँचका लागि जान नमानेका कारण समस्या भएको बताउनुभयो ।