रौतहट – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बहुला कुकुर पानी देखेर तर्सिएर भागे जस्तै गठबन्धनको सरकार चुनावको नाम सुन्ने बितिकै तर्सिरहेको टिप्पणी गर्नुभएको छ । यसै सन्दर्भमा हाईड्रोफोबिया रोग लागेजस्तै पाँच दलीय गठबन्धनको सरकारलाई चुनाव फोबिया रोग लागेको समेत जिकिर गर्नुभयो ।
रौतहटको कटहरियास्थित एमालेको नवौँ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै ज्ञवालीले पाँच वर्ष सरकार चलाउने सहमतिमा माओवादी केन्द्र पार्टीसँग एकता भए पनि तर दुई वर्षमा नै प्रचण्डले अध्यक्ष ओली नेतृत्वको सरकार ढाल्न अनेक षड्यन्त्रमा लागेको आरोप लगाउनुभयो।
सरकारबाट बाहिरपछि एमाले कमजोर हुन्छ भनी गठबन्धनले सोचेको तर सरकारबाट बाहिरिँदा एमाले झन् जनता माझ लोकप्रिय भएको देखेर प्रचण्ड र माधव नेपाल हतोत्साहित भएको उहाँले तर्क गर्नुभयो । ‘प्रचण्ड र माधव नेपाल एमालेसँग डराएर गठबन्धन तोड्नुहुँदैन, चुनाव पछिसम्म हुनुपर्छ भन्ने शब्द जहाँ गए पनि जसलाई भेटे पनि भन्न छुटाउँदैन’ उपमहासचिव ज्ञवालीले भन्नुभयो ।
नेकपा विभाजनपछि रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र मणी थापा जस्ता होनहार नेताहरूले एमाले रोजेपछि प्रचण्डलाई ठूलो धक्का लागेको पनि बताउनुभयो ।
ज्ञवाली भन्नुहुन्छ- ‘कम्युनिष्ट आन्दोलनलाई धोका दिएका प्रचण्डले आफू कम्युनिष्ट हुँ भन्न लाज लाग्नु पर्ने हो तर कुनै पनि नैतिकता नरहेकोलाई केको लाज । उता १५ वर्ष एमालेमा एकछत्र राज गरेका माधव नेपाल आफूलाई ओलीले मान गरेन अपमान गर्यो भन्नू हास्यास्पद कुरा हो ।‘







प्रतिक्रिया