काठमाडौं – सरकारले स्थानीय तहको निर्वाचन गर्न आलटाल गरिरहेको बेला तीन वटा संस्थाले तत्काल निर्वाचनको मिति घोषणा गरेर संविधानको पालना गर्न चेतावनी दिएका छन् ।
नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ र जिल्ला समन्वय समिति महासंघले आज संयुक्त विज्ञप्ती निकालेर यस्तो चेतावनी दिएका हुन् । ‘संविधानले स्थानीय तहलाई एक दिन पनि जनप्रतिनिधिविहिन हुने कल्पना नगरेकोले आगामी जेठ भित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्न हामी सरकारलाई स्मरण गराउँदछौं’ नगरपालिका महासंघका अध्यक्ष अशोक व्याञ्जु, गाउँपालिका महासंघका अध्यक्ष होमनारयाण श्रेष्ठ र जिसस महासंघका अध्यक्ष नवराज गेलालले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्तीमा समयमा निर्वाचन नगरिएको खण्डमा संवैधानिक संकट आउने कुरा सरकारलाई सम्झाइएको छ। यति मात्र होइन २०५९ मा समयमा नै स्थानीय निकायको निर्वाचन नहुँदा देशले १५ वर्ष जनप्रतिनिधि बिहिनताको अवस्था भोग्नु परेको पनि स्मरण गराइएको छ । ‘समयमा निर्वाचन भएन भने कानुन निर्माण प्रक्रिया, योजना तर्जुमा, बजेट स्विकृत गर्ने, स्थानीय सञ्चित कोष व्यवस्थापन बजेट खर्च अख्तियारी दिने र जनप्रतिनिधिले गर्ने काम हुन नपाउँदा संघीय लोकतान्त्रिक गणतन्त्र प्रति नै आम जनमानसको नकारात्मक भाव पैदा हुन्छ’ विज्ञप्तीमा भनिएको छ ।








प्रतिक्रिया