काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आगामी वर्ष २०७९ सालको क्यालेण्डर तयार पारेको छ । नयाँ वर्ष २०७९ को लागि तयार पारिएको पात्रो माघ १५ गतेपछि बजारमा आइसक्ने समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिनुभयो ।
सदस्य सचिव ढुंगेलका अनुसार आगामी वर्षको लागि समितिले १४ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिएको छ । तोयनाथ पन्त, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बंगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि र खप्तड तारानाथ पञ्चाङ्ग गरी १४ पात्रोलाई स्वीकृति दिने निर्णय गरिएको ढुङ्गेलले जानकारी दिनुभयो ।
२०७७ पुस २० गते मन्त्रिपरिषद्ले समितिको गठन आदेश स्वीकृत गरेको थियो । त्यसअघि मन्त्रालयको पत्रका आधारमा मात्र समिति गठन भएर पात्रोलाई स्वीकृति दिने गरिएको थियो । गठन आदेशअनुसार समितिले स्वीकृति दिएका पात्रो मात्र प्रयोग गर्न आम मानिसलाई सूचना प्रकाशन गरी आह्वान गरिएको छ ।
सूचना तथा प्रसारण विभागले मात्र समितिको स्वीकृतिमा भित्तेपात्रो प्रकाशन गर्ने गरेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । अन्य भित्तेपात्रो भने विभाग र समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) सारेर प्रकाशन हुने गरेकाले प्रतिलिपि अधिकारसम्बन्धी कानूनअनुसार कारबाही प्रक्रिया अघि बढाउने विषयमा पनि छलफल शुरु भएको समितिले जनाएको छ ।







प्रतिक्रिया