अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दाह्रा किट्ने फण्डित र युवा नेता पनि बेपत्ता हुनु संयोग मात्रै होला त ? : गोकुल बास्कोटा

दाह्रा किट्ने फण्डित र युवा नेता पनि बेपत्ता हुनु संयोग मात्रै होला त ? : गोकुल बास्कोटा


काठमाडौं – नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्व मन्त्री गोकुल बास्कोटाले अध्यक्ष केपी शर्मा ओलीको सरकार हुँदा सडक आन्दोलन गर्ने नागरिक समाजका अगुवा र युवा नेताहरु अहिलेको सरकारले गरेका ‘गल्ती’मा चाहिं एक शब्द पनि नबोलेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।

२४ लाख डोज कोरोना खोप गायब हुँदा, भारतले नेपाली भूमिमा सडक बनाउँदा पनि वर्तमान गठबन्धन सरकार मुखमा टेप टाँसेर बसेको तथा स्थानीय तहको चुनाव घोषणा नगरेको टिप्पणी बाँस्कोटाले गर्नुभयो। तर हिजोको दिनमा अध्यक्ष ओली सरकार हुँदा दैनिककजसो सडकमा ड्रम ठोक्ने, निधारामा माटोको टीका लगाउने र दाह्रा किट्दै सरकार चलाउन सिकाउने र विरोध प्रदर्शन गर्नेहरू यतिबेला ‘बेपत्ता’ भएको आरोप उहाँले लगाउनुभयो ।

बास्कोटा भन्नुहुन्छ- ‘खोप गायब हुँदा, देशभित्र विदेशीले एकलौटी सडक बनाउँदा मुखमा टेप टाँसेर बस्दा अनि स्थानीय तहको चुनाव घोषणा नगर्दा’, बाँस्कोटाले बुधबार सामाजिक सञ्जालमा लेख्नुहुन्छ, ‘ओली सरकार हुँदा सधैंजसो सडकमा ड्रम ठोक्ने, निधारमा माटोको टीका लाउने र मण्डलामा सरकार चलाउन सिकाउँदै दाह्रा किट्ने फण्डित र युवा नेता पनि बेपत्ता हुनु संयोग मात्रै होला त ?’

एमाले नेता बास्कोटाले विगतमा बोल्न पाइन्छ भन्दै मुखमा कालो टेप बाँधेर ओलीको विरोध गर्ने रामकुमारी झाँक्रीले अहिले कालापानी र लिपुलेकको विषयमा बोल्ने काम अभियन्ताको भन्दै पन्छिएकोमा समेत प्रश्न उठाउनुभएको छ ।

बास्कोटाले व्यंग्य गर्दै भन्नुभएको छ– ‘एक सच्चा देशभक्त परमादेशी मन्त्रीले मुखमा बेरेको कालो टेप खोलेर बोलेको सुनियो ? कालापानी क्षेत्रबारे मन्त्री बोल्न मिल्दैन, अभियन्ताले मात्र बोल्न मिल्छ । धन्य, हाम्रो अग्रगामी सरकार ? तिमी छौ र त हाम्रो देशभक्ति र लोकतन्त्र बाचेको छ।

पछिल्लो पटक सरकारका सचिवले नै २४ लाख खोप गायब भएको स्वीकार गरेका छन् भने १ करोड डोज केपी ओली सरकारकै पालमा आएको खोप समेत सरकारले भण्डारण गरेर राखेको छ । विगतमा ओली सरकारविरुद्ध कमलपोखरीको माटोको टीका लगाएर माइतीघर मण्डलाबाट सरकार चलाउन सिकाउनेहरु अहिले परमादेशी सरकारको मतियार बनेको उहाँको आरोप छ ।