अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवनबाट नक्कली नोटसहित दुई जना पक्राउ

चितवनबाट नक्कली नोटसहित दुई जना पक्राउ


चितवन – चितवनमा नक्कली नेपाली नोटको कारोबारमा संलग्न दुई जना पक्राउ परेका छन् ।

चितवन प्रहरीले खैरहनी नगरपालिका-३ घर भई हाल भरतपुर महानगरपालिका-३ बेलचोकमा डेरा गरी बस्ने २५ वर्षीय पबिता घतानी र राप्ती नगरपालिका-७ बस्ने २७ वर्षीय गगन लाल तामाङलाई ४ माघमा पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत मुद्रा सम्बन्धी कसुर ९खोटा मुद्रा० मुद्दामा चितवन जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो ।

नारायणगढ बेलचोकमा रहेको एक फेन्सी पसलमा कपडा खरिद गर्न गएकी पबिता घतानीले कपडा खरिद गरेपछि दिएको नोट नक्कली भएको भन्ने सूचनाको आधारमा प्रहरीले घतानीलाई पक्राउ गरेको थियो । उनको साथबाट नक्कली नेपाली नोट एक हजार रुपैयाँका १० थान बरामद गरिएको अधिकारीले बताउनुभयो ।

एचपी कम्पनीको ल्यापटप एक थान र सौर्य दैनिकको एउटा प्रेस कार्डसहित तामाङलाई सौराहाको एक होटेलबाट पक्राउ गरिएको उहाँले बताउनुभयो ।

नक्कली नेपाली नोट छाप्ने काममा भने अरू नै संलग्न रहेको र उनीहरू फरार रहेकाले खोजी कार्य जारी रहेको उहाँले बताउनुभयो । उनीहरूको साथबाट एमआई कम्पनीको एउटा मोबाइल पनि बरामद गरिएको छ ।