विर्तामोड – पूर्व कानून मन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य अग्नी खरेलले स्थानीय चुनाव सारेमा एमालेले नसहने चेतावनी दिनुभएको छ ।
विर्तामोडस्थित निजी निवासमा आज विहान पत्रकारहरुसँग कुरा गर्दैै नेता खरेलले नेकपा ,माओवादी र नेकपा समाजबादी पार्टीको उक्साहटमा लागेर स्थानीय प्रधानमन्त्री शेरबहादुर देउवा चुनाव सार्ने संविधानविरोधी षडयन्त्रमा सामेल भइरहेको आरोप लगाउनुभयो ।
‘स्थानीय तहको सरकारको अवधि पाँच वर्ष भनेर संविधानले नै तोकिदिएको छ,’ खरेलले भन्नुभयो–‘यसमा एकदिन अवधि थप्न मिल्दैन । अनि एकदिन पनि स्थानीय तहलाई जनप्रतिनिधिविहीन राख्न पनि मिल्दैन ।’
संविधानले स्थानीय तहको सरकारको अवधि भनेर पाँच वर्ष किटान गरिदिएको र अब बिगतमा जस्तो स्थानीय सरकारलाई जनप्रतिनिधिविहीन बनाएर कर्मचारीबाट चलाउने छुट संविधानले नदिएको खरेलको धारणा छ ।
खरेलले नेकपा एमाले जुनसुकै चुनावका लागि पनि तयार भएको समेत बताउनुभयो । ‘तर संविधान र कानून मिचेर कोही अघि बढ्छ भने एमालेले त्यसलाई सहँदैन’–खरेलले भन्नुभयो ।
वैशाखमा हुनुपर्ने चुनाव मङ्सिरमा सार्न नमिल्ने एमालेको धारणा रहेको उनको भनाई थियो ।
चुनाव हार्ने डरले सत्ता गठबन्धनका साझेदार नेकपा माओबादी र नेकपा समाजबादीको उक्साहटमा चुनावै नगरी सत्ता लम्ब्याउने प्रतिगमनकारी जालझेल भइरहेको उनले बताए ।
अर्ली इलेक्सन वा तीन वटै तहको चुनाव एकैपटक गर्ने भन्ने कुरा पनि षडयन्त्रको तानाबुना भएको खरेलले बताए ।







प्रतिक्रिया