पोखरा – नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले तीन तहको निर्वाचन एकै चरणमा हुन नसक्ने दावी गर्नुभएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गरिसक्नुभएपछि बुधबार पोखरामा उहाँले एकै तहको निर्वाचन पनि एक चरणमा गर्न सम्भव नहुने भन्दै स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्न सम्भव नहुने बताउनुभएको हो ।
‘तीन तहको निर्वाचन एकै चरणमा सम्भव छैन, एक तहको त एक चरणमा हुन सक्दैन तीन तहको एकै चरणमा कसरी सम्भव हुन्छ ?’ उहाँले प्रश्न गर्नुभयो ।
उपमहासचिव गुरुङले सत्तारुढ गठबन्धनले कुनै बाहाना नगरी स्थानीय निर्वाचनको चाडो भन्दा चाडो मिति तोक्नतिर लाग्न आग्रह गर्नुभयो । पहिले स्थानीय तहको निर्वाचन गरेर प्रदेश र संघीय संसदको निर्वाचन गर्नु नै सही हुने भन्दै उहाँले भन्नुभयो ‘कुनै बाहाना नगरी छलकपट नगरी आफ्नो स्वार्थ नहेरी चुनाव गर्नुपर्छ ।’






प्रतिक्रिया