केन्द्रीय तथ्यांक विभागले यस पटक जनगणना २०७८ को प्रारम्भिक नतिजा जनगणना सम्पन्न भएको तीन महिना नपुग्दै सार्वजनिक गरेको छ, जो अघिल्ला जनगणनाको तुलनामा एकदमै छिटो हो भन्न सकिन्छ । यसो हुनमा मुख्य दुई कारण हुन सक्छन् : पहिलो प्रविधिको बढ्दो प्रयोग । जस्तो यस पटक काठमाडौं उपत्यकामा ट्याव्लेटको प्रयोग गरी डिजिटल तथ्यांक लिइएको थियो । र, दोसो विभागको आन्तरिक जनशक्तिको पनि भरपूर उपयोग भएको आभाष मिलेको छ ।
महिला वा पुरुष को बढी ?
जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालको जनसङ्ख्या ३ करोड भन्दा कम अर्थात २ करोड ९१ लाख ९२ हजार ४८० मा सिमित रहयो । जो १० वर्ष अगाडि २०६८ मा लिइएको जनगणनाको तुलनामा २६ लाख ९७ हजार ९७६ जनाले बढी हो। यसरी प्राय: सबैले अनुमान गरेको ३ करोड जनसङ्ख्याको अनुमानभन्दा पनि कम हो । यसबाट नेपालको जनसङ्ख्या सम्बन्धी नीति तथा कार्यक्रमलाई चुनौती दिने गरी नतिजा प्राप्त हुन आएको भन्न सकिन्छ । विगत जस्तै यस पटक पनि महिलाको जनसङ्ख्या पुरूषको तुलनामा बढी देखिएको छ । कुल जनसङ्ख्यामा १ करोड ४२ लाख ९१ हजार ३११ जना अर्थात ४८.९६ प्रतिशत पुरुष रहेका छन् भने महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ अर्थात ५१.०४ प्रतिशत रहेको छ। हालसम्म देखिएको बालबालिका र २० वर्षमुनिका युवामा परूष संख्या बढी हुनुले पनि यो भन्न सकिन्छ । अहिले हामीले बहस गरे जस्तो महिलाको जनसंख्या बढेको होइन । घटेको छ । भ्रुण पहिचान गरेर गरिने अवैद्य गर्भपतन यसको प्रमुख कारण हो । जसले गर्दा अघिल्लो जनगणनामा ५१.५ प्रतिशत भएका महिलाहरु यो पटक ५१.०४ मात्र भएका छन् ।
विदेशमा रहेका नेपालीको संख्या कति छ ?
विदेशमा रहेका नेपालीको संख्या २१ लाख ६९ हजार ४ सय १८ पुगेको छ, जो १० वर्ष अघिको तथ्यांकको तुलनामा २ लाखले बढी हो । अघिल्लो जनगणनामा यस्तो जनसङ्ख्या १९ लाख २१ हजार ४ सय ९४ रहेको थियो । विदेशमा रहेका महिलाको संख्यामा पनि यस पटक वृद्धि भएको तथ्यांकले देखाएको छ । प्रारम्भिक नतिजाले देखाए अनुसार विदेशमा रहनेहरुमध्ये पुरुष १७ लाख ६३ हजार ३ सय १५ (८१.२८ प्रतिशत) र महिला ४ लाख ६ हजार १ सय ३ (१८.७२ प्रतिशत) रहेका छन् । अघिल्लो जनगणनामा पुरुषको संख्या ८७.६४ प्रतिशत रहेकोमा पछिल्लो १० वर्षमा महिला ७१.०९ प्रतिशत अर्थात करिव २ लाखले बढी महिला विदेशिएको पाइएको छ ।
जन्मदा पुरुष बढी गणनामा महिला
विदेशमा रहेको यो संख्या जनगणनाको अन्तराष्ट्रिय मूल्य मान्यता अनुसार कुल जनसङ्ख्यामा जोडिएको छैन । यदि यो विदेशमा रहेको जनसङ्ख्या कुल जनसङ्ख्यामा जोड्ने हो भने महिला भन्दा पुरूषकै संख्या बढी हुन आउछ । तर त्यसो गर्दा विदेशबाट नेपालमा आइ बसेको संख्या घटाउनु पर्ने हुन्छ, जो जनगणनाको स्थापित मूल्य मान्यता विपरित हुन जाने भनिएको छ। पहिला पहिलाको जनगणनामा देश भित्र आउने र देश बाहिर जानेको जनसङ्ख्या लगभग उस्तै हुने गरेकोमा विगत जनगणना देखि विदेशिनेको संख्या ह्वात्तै बढेको छ ।
समग्रमा तराईबाट सबैभन्दा बढी विदेशिएका देखिएका छन् । यस अवधिमा तराईबाट विदेसिनेहरु १० लाख ६५ हजार ९ सय ६९ रहेका छन् भने पहाडबाट ९ लाख ८४ हजार ८ सय ९६ र हिमालबाट १ लाख १८ हजार ६ सय १३ विदेशिएका छन् । विगत देखि नै तराईमा आधा भन्दा बढी जनसङ्ख्या रहनु र पहाड तथा हिमालमा जनसङ्ख्या क्रमश: घट्दै जानुले पनि यसो भएको हो भन्न सकिन्छ ।
जनसंख्या वृद्धिदरमा आएको उतारचढावले के संकेत गर्दछ ?
प्रारम्भिक नतिजा अनुसार नेपालको जनसङ्ख्या वृद्दिदर वि.सं. २०५८ देखि वि.सं. २०६८ को बीचमा प्रति वर्ष १.३५ प्रतिशत रहेकोमा वि.सं. २०६८-७८ को अवधिमा प्रतिवर्ष घटेर ०.९३ मा आउनुले जनसङ्ख्या सन्तुलनमा उतारचढाब आउने देखिन्छ । यसको अर्थ अघिल्लो जनगणना अविधमा रहेको प्रति हजारमा वार्षिक १३/१४ जना मानिस थपिने गरेकोमा पछिल्लो १० वर्षको अवधिमा प्रति हजार ९ जना मानिस मात्र थपिने गरेको पाइयो । यस्तै परिवार संख्या पनि अघिल्लो जनगणनामा रहेको ४.७२ प्रति परिवार रहेकोमा यस पटक औसत परिवार संख्या ४.३२ मा झरेको देखिन्छ ।







प्रतिक्रिया