काठमाडौं – काठमाडौंको शंकरापुर नगरपालिका-३, बोजेनीमा एक दम्पत्ती सुतेकै अवस्थामा मृत भेटिएका छन्।
५२ वर्षीय पदमबहादुर थिङ र उनकी ४५ वर्षीकी पत्नी फूलकुमारी मृत अवस्थामा भेटिएका हुन् । बुधबार राति खाना खाएर सुतेका उनीहरु मृत अवस्थामा भेटिएको काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले बताउनुभयो ।
उहाँका अनुसार बिहीबार बिहान ७ बजेसम्म पनि उनीहरुले ढोका नखोलेपछि जेठा छोरा २६ वर्षीय सूर्यबहादुर थिङले ढोका फुटाएर भित्र छिरेका थिए । त्यसक्रममा दुवै जना मृत अवस्थामा भेटिएको भन्दै उहाँले प्रहरी वृत्त, बौद्धमा खबर गर्नुभएको थियो।
त्यसपछि प्रहरी वृत्त, बौद्ध र अपराध अनुसन्धान महाशाखाको टोली गएर अनुसन्धान गरेको थियो । अनुसन्धान अधिकृतहरुका अनुसार उनीहरु राति माकल बालेर सुतेका थिए । राति नै निसास्एिर मृत्यु भएको हुनसक्ने अधिकृतहरुको अनुमान छ । प्रहरीले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञको टोली पनि घटनास्थलमा लगेको थियो ।
मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया