दार्चुला – दार्चुलाको खलङ्गास्थित महाकाली नदीमा नुहाउने क्रममा बगेर बेहोस भएका युवकको मृत्यु भएको छ । आज दिउँसो नुहाउनका लागि नदीमा गएका व्याँस गाउँपालिका–४ का २१ वर्षीय सुवास कुँवरका उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
खलङ्गाको बङ्गाबगडमा महाकालीमा बगेका ती युवकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिनुभयो । ‘उद्धार गरी जिल्ला अस्पताल भर्ना गरेका थियौँ,’ उहाँले भन्नुभयो, ‘अस्पतालले मृत घोषणा गरिसकेको हो ।’
कुँवर महाकाली नदीमा बगेपछि स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उद्धार गरेको थियो । महाकाली नगरपालिका–४ मा उनी कोठा भाडामा लिएर बस्दै आएका थिए । कम्प्युटर सिक्नका लागि कुँवर ब्यासबाट खलङ्गा आएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया