अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जुम्लामा भेडापालक किसानलाई ‘गोठालो भत्ता’

जुम्लामा भेडापालक किसानलाई ‘गोठालो भत्ता’


जुम्ला – जुम्लाको पशुअस्पताल तथा पशुसेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा जुम्लाका भेडापालक कृषकले निवेदन दिएका छन् । कर्णाली प्रदेश सरकारले भेडा पालक किसानलाई प्रोत्साहन गर्न गोठालो भत्ता दिने कार्यक्रम ल्याएपछि आफ्नो भत्ता दाबी गर्न २६५ किसानले निवेदन दिएका हुन् ।

निवेदन परेका कृषकको अनुगमन गरेर भेडा कति छन् कृषक हो की होइन भन्ने विषयमा जानकारी लिन कर्मचारी फिल्ड स्तरमा गएको पशुअस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका योजना प्रमुख धनबहादुर महतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्थलगत रिपोर्ट र मूल्याङ्कनपछि मात्र स्वीकृत दिने र कार्यक्रम सञ्चालन गरिने छ ।’ महतले आगामी महिनादेखि कार्यक्रम सुरु हुन सक्ने बताउनुभयो ।

भेडा पालक किसानलाई  प्रोत्साहन गर्नका लागि ‘गोठालो भत्ता’ दिने कार्यक्रम लागू गरिएको पशुअस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख गोविन्दबहादुर महतले बताउनुभयो । उहाँले ५० देखिमाथि भेडा पाल्ने किसानलाई मासिक एक हजार पाँच सयका दरले वार्षिक १८ हजार भत्ता दिने गरिएको छ ।

उहाँले भन्नुभयो, ‘जुम्लाका १५० जना भेडा पालकलाई ‘गोठालो भत्ता’ दिने कार्यविधि छ । कार्यविधिअनुसार ५० देखि एक सय भेडा पाल्ने किसानलाई मासिक १ हजार पाँच सयका दरले गोठालो भत्ता दिइने छ ।

रकम सम्बन्धित किसानको बैंक खातामा नै जम्मा गरिने योजना शाखाका प्रमुख महतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कर्णाली प्रदेश सरकारले किसानलाई भेडा पालनतर्फ उत्साहित बनाउनका लागि गोठालो भत्ता उपलब्ध गराइएको हो । कार्यक्रमले किसानको रुचि भेडापालनतर्फ बढ्ने अपेक्षा गरिएको छ ।’ पशुअस्पताल तथा पशुसेवा कार्यालयमा २८४ किसानले आफ्नो फार्म सूचीकृत गराएका छन् ।

जुम्लाका १५० जना भेडा पालक किसानलाई गोठालो भत्ता दिने रकम आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जुम्ला जिल्ला भेडा पालक किसान धेरै छन् । कर्मचारी स्थलगत रूपमा फिल्डमा गएका छन्। उनीहरूको रिपोर्ट र मुल्यांकनको आधारमा गोठालो भत्ता दिइने छ ।’

कर्णाली सरकारले गोठालो भत्ता तथा यसअन्तर्गतका अन्य कार्यक्रमका लागि साबिक कर्णालीका पाँच जिल्लामा ७२ लाख रुपैयाँ विनियोजन गरेको छ ।