अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेलाई कमजोर पार्ने षडयन्त्र सफल हुँदैन :  प्रभु साह

एमालेलाई कमजोर पार्ने षडयन्त्र सफल हुँदैन :  प्रभु साह


रौतहट – नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले प्रतिक्रियावादीको कुनैपनि षडयन्त्रले एमाले पार्टीलाई कमजोर बनाउन नसक्ने दाबी गर्नुभएको छ । उहाँले एमालेको लोकप्रियतासँग डराएर नै पाँच दलीय गठबन्धनले पद रिक्त रहेका कतिपय स्थानमा उपनिर्वाचन नगराएको बताउनुभयो ।

शुक्रबार रौतहटको चन्द्रनिगाहपुरस्थित एमाले नगर कमिटीद्वारा आयोजित अगुवा भेलालाई सम्बोधन गर्दै नेता साहले नेकपा माओवादी केन्द्रबाट एमालेमा गएका नेताहरुले सामूहिक राजीनामा दिने भन्ने आशयको खबर भ्रामक र गलत रहेको बताउनुभयो । प्रतिक्रियावादीहरुले यस्तो भ्रामक खबर फैलाएको उहाँले दाबी गर्नुभयो ।

नेता साह भन्नुहुन्छ- ‘६ महीनामा गर्नुपर्ने उपचुनाव पद सकिएको १ वर्ष भइसक्दा समेत गराउन नसक्नु भनेको गठबन्धनभित्र हार र डर नै प्रमुख कारण हो ।’ राष्ट्रियसभाको निर्वाचनले पनि सत्तारुढ गठबन्धन एमालेसँग झस्किएको बताउँदै साहले समयमै स्थानीय तहको निर्वाचन गराउनुपर्नेमा जोड दिनुभयो ।

नेता साहले अध्यक्ष ओलीको सरकारका पालामा सुरु भएका विकास निर्माणका योजनाहरु देउवा सरकारले रोकेर विकास विरोधी काम गरेको टिप्पणीसमेत गर्नुभयो ।

कार्यक्रममा प्रभु साहसहित एमाले केन्द्रीय सदस्य कुन्दन कुश्वाहा, जिल्ला अध्यक्ष त्रिभुवन साह, उद्वव घिमिरेलगायत सहभागी रहेको थियो ।