अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय तहको निर्वाचन सार्ने विकल्प संविधानसम्मत छैन : महामन्त्री थापा

स्थानीय तहको निर्वाचन सार्ने विकल्प संविधानसम्मत छैन : महामन्त्री थापा


काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचन संविधानसम्मत् गर्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकपछि महामन्त्री थापाले सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनको सम्बन्धमा अघि सारेका विकल्पहरु संविधानसम्मत् नभएको बताउनुभयो ।

कानून संशोधन गरेर निर्वाचन गरे संविधानसम्मत् नहुने भन्दै उहाँले संविधानसम्मत् नभएको कुरालाई कांग्रेसले बोक्नु नहुने बताउनुभयो ।

पार्टी सभापति शेरबहादुर देउवालाई आफूहरुले सो कुरा राखिसकेको उहाँले उल्लेख गर्नुभयो । गठबन्धनले संविधानसँग बाझिने गरी कुनैपनि काम नगर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो

उहाँले भन्नुभयो, ‘स्थानीय निर्वाचनका सन्दर्भमा अहिले जे–जस्तो विषयहरु गठबन्धन भित्र प्रवेश भएको छ। जुन विकल्पको बारेमा छलफल भयो भनेर सञ्चार माध्यमबाट बाहिर आएका छन् । ती कुनैपनि विषयहरु संविधानसम्मत् छैन । यो संविधानसम्मत् नहुने कुरालाई नेपाली कांग्रेसले बोक्नुपर्ने कुनैपनि कारण छैन । बोक्नु हुँदैन भन्नेकुरा हामीले हाम्रो सभापतिजीलाई भनिसकेका छौँ । यो बारेमा गठबन्धनका नेताहरुले पनि अवश्य बुझ्नुहुन्छ र संविधानसँग बाझीने गरी कुनैपनि काम गठबन्धनले गर्दैन भन्ने कुराको मलाई विश्वास छ ।’

सभापति देउवाले सो कुरा गठबन्धनको बैठकमा राख्ने प्रतिवद्धता गरेको पनि महामन्त्री थापाले जानकारी दिनुभयो । शनिबार बस्ने गठबन्धनको बैठक स्थानीय तहको निर्वाचन तय गर्नेतर्फ जानेमा आफूले अपेक्षा गरेको बताउनुभयो ।