काठमाडौं – काठमाडौं उपत्यका भित्र चल्ने बस, टेम्पो र माइक्रोबसमा लागू गरिएको जोर-बिजोर प्रणाली हटाउने निर्णय गरेको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले ट्याक्सी र निजी सवारी साधनबाहेक अन्य सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले ट्याक्सी र निजी सवारी साधनमा मात्र जोरविजोर प्रणाली लागू हुने जानकारी दिनुभयो ।
माघ १४ गते राति १२ बजेबाट लागू हुनेगरी सो निर्णय गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताउनुभयो । निजी सवारी साधन र ट्याक्सीलाई चाहिं जोर बिजोर प्रणाली लागू हुनेछ । दुई पांग्रेसहित निजी सवारीलाई गतेका आधारमा जोर बिजोर प्रणाली लागू हुने प्रजिअ उपाध्यायले बताउनुभयो । दुईपांग्रे सहितका निजी र ट्याक्सी जोर गते जोर र बिजोर गते बिजोर नम्बरमा चल्न पाउनेछन् ।
कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले पनि सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको हो ।
सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम पनि बढेकाले जोरबिजोर प्रणाली हटाउने निर्णय भएको सीसीएमसीसीले जनाएको छ ।
प्रतिक्रिया