म्याग्दी – मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले सुन्तला बिक्री गरी रु २१ लाख आम्दानी गरेका छन्।
बीस परिवारको बसोबास रहेको दुवै बस्तीको मुख्य आयस्रोत सुन्तलाखेती बनेको छ । भेडाबारीका अगुवा किसान ओम गिरीले यसपाली झण्डै तीस हजार किलो सुन्तला बिक्री भएको जानकारी दिनुभयो । ‘पोखराका व्यापारीले बगैँचाबाटै सुन्तला खरिद गरेर लगे,’ उहाँले भन्नुभयो, ‘सरदर रु ७० प्रतिकिलोका दरले सुन्तला बिक्री भयो ।’ एउटा परिवारले सरदर रु एक लाखभन्दा बढी आम्दानी गरेको उहाँले बताउनुभयो ।
गत वर्ष रु.१५ लाख बराबरको सुन्तला बिक्री भएको थियो । अन्यत्रको सुन्तला बिक्री भइसकेपछि माघको दोस्रो हप्तादेखि भेडाबारीको सुन्तला टिपेर बजार पठाउन थालिएको थियो । पाँच मुरी कोदो फल्ने बारीमा सुन्तलाखेती गरेर वार्षिक रु तीन लाखसम्म आम्दानी र्गो गरेको बेम गिरीले बताउनुभयो ।
‘अन्नबालीभन्दा सुन्तलाबाट धेरै फाइदा छ,’ उहाँले भन्नुभयो, ‘त्यही भएर मकै र कोदो लगाउन छाडेर सुन्तला लगाएका छौँ ।’ उपयुक्त हावापानी र अनुकूल भूगोल भएकाले भेडाबारीमा सुन्तला खेती फस्टाएको हो । नयाँ बिरुवा थपिने क्रमसँगै बर्सेनि उत्पादन पनि बढेको छ । किसानले न्यूनतम एक सयदेखि ५०० बोटसम्म सुन्तलाखेती गरेका छन् । उनीहरुले बगैँचाभित्र तरकारी, अदुवा र बेसारखेती गरेर अतिरिक्त आम्दानी पनि गरिरहेका छन् ।
सिँचाइ र सडक यातायातको समस्या भेडाबारी र भोर्लेनीको सुन्तला खेतीका लागि चुनौति बनेको छ । सुन्तला बिक्री र आवतजावतका लागि पोक हुँदै भेडाबारीसम्म निर्माण गरिएको सडक स्तरोन्नति हुनसकेको छैन् । भेडाबारीबाट सातबिसेसम्म गाडीमा ल्याएको सुन्तला म्याग्दी खोलामा पुल नभएकाले भरियामार्फत तोराखेतमा तारेर त्यहाँबाट गाडीमा राखेर बजार पठाउने गरिएको छ ।
सुन्तला बगैंचामा सिँचाइ गर्न समस्या छ । लामो सुख्खा र खडेरीसँगै सुन्तला खेतीमा सिँचाइ पु¥याउन समस्या भएको स्थानीय गणेश गिरीले बताउनुभयो । बाबियाचौरको माटेबगर र अर्मनको पोक जोड्ने मोटरेबल पुल निर्माण सम्पन्न गराउन पहल तथा समूहमार्फत भोर्लेनी र भेडाबारीमा सिँचाइ आयोजना निर्माणको तयारी भएको गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले बताउनुभयो ।







प्रतिक्रिया