अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वैशाख भित्रै स्थानीय तहको निर्वाचन गर्न एमालेले सबै जनसंगठन परिचलान गरेर देशव्यापी रुपमा दबाब दिने

वैशाख भित्रै स्थानीय तहको निर्वाचन गर्न एमालेले सबै जनसंगठन परिचलान गरेर देशव्यापी रुपमा दबाब दिने


काठमाडौं – नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दबाब दिने निर्णय गरिएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा बसेको एमाले केन्द्रीय कार्यालय बैठकले आउँदो वैशाखभित्रै स्थानीय तह निर्वाचनको मिति घोषणा गर्नका लागि सम्पूर्ण शक्तिका साथ सरकारलाई दबाब दिने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।

यसका लागि पार्टीका सबै जनसंगठनलाई परिचालन गर्ने निर्णय भएको भट्टराईले बताउनुभयो ।
यस्तै, पार्टीका तर्फबाट सरकारको ध्यानाकर्षण गर्ने र आवश्यक परे प्रधानमन्त्रीसमक्ष ‘हाई लेभल डेलिगेसन’ जाने निर्णय बैठकले गरेको छ ।

केन्द्रीय कार्यालय बैठकले स्थानीय तह निर्वाचनका लागि पार्टीका सम्पूर्ण मातहत कमिटिहरूलाई तयारीमा जुट्न निर्देशन दिएको भट्टराईले जानकारी दिनुभयो ।
बैठकले सचिवालय बैठकमा पेस गर्ने एजेन्डा पनि तय गरेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनको मत परिणामलाई हेर्दा एमालेको मतसंख्या बढेको र गठबन्धनको औचित्य नरहेको देखिएकाले यसको समीक्षा सचिवालय बैठकमा गर्ने निर्णय गरिएको छ ।

यसैगरी, १६ जिल्लाबाहेकका जिल्लामा भएको अधिवेशनले पार्टीलाई व्यवस्थित गर्ने काम भएको भन्दै बैठकले प्रदेश कमिटीको निर्वाचनका सम्बन्धमा पनि सचिवालयमा छलफल गर्ने निर्णय गरिएको भट्टराईले जानकारी दिनुभयो ।

पार्टी विधानअन्तर्गत रहेर पार्टी सञ्चालनका लागि नियमावलीलाई अगाडि बढाउनुपर्ने भएकाले नियमावलीको ड्राफ्ट सचिवालय बैठकमा पेस गर्ने निर्णय पनि गरिएको छ । जनसंगठन परिचालनको निर्देशिका, आर्थिक निर्देशिकालगायत पार्टीका आन्तरिक कामलाई व्यवस्थापन गर्नका लागि भएका कामहरूलाई सचिवालयको बैठकमा प्रस्तुत गर्ने निर्णय भएको भट्टराईले बताउनुभयो।
एमाले विधानमा महासचिव नेतृत्वको केन्द्रीय कार्यालयमा उपमहासचिव र सचिवहरू सदस्य रहने प्रावधान छ ।