अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हुम्ला अस्पतालको सेवा एक हप्तापछि सुरु

हुम्ला अस्पतालको सेवा एक हप्तापछि सुरु


सिमकोट – हुम्ला जिल्लामा रहेको एक मात्र जिल्ला अस्पतालले एक हप्तापछि पुनः सेवा सुचारु गरेको छ । जिल्ला अस्पताल हुम्लामा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएपछि सेवा बन्द गरिएकोमा सबै सेवा एक हप्तापछि सुचारु गरेको जिल्ला अस्पताल स्रोतले जानकारी दिएको छ ।

यसअघि माघ ७ गते कोरोना परीक्षण गर्दा आठ जना स्वास्थ्यकर्मीलाई सङ्क्रमण पुष्टि भएको र सङ्क्रमण बढ्ने त्रासपछि अस्पतालले अर्को सूचना प्रकाशन नगर्दासम्मका लागि आकस्मिक बाहेक सबै सेवा बन्द गरेको थियो ।

संक्रमित स्वास्थ्यकर्मी आइसोलेसनबाट मुक्त भएकोले एक हप्तापछि जिल्ला अस्पताल हुम्लाले सबै सेवा पुनः सुरु गरेको स्वास्थ्य कार्यालय प्रमुख प्रेम बहादुर सिंहले बताउनुभयो ।

जिल्ला अस्पताल हुम्लाले अहिले सोमबारबाट सबै सेवा पहिलेकै अवस्थामा सुचारु गरी नागरिकहरूलाई सेवा दिएको प्रमुख सिंहले बताउनुभयो । नियमित अस्पताल सञ्चालन हुने भएपछि चिकित्सक र स्वास्थ्यकर्मी २४सै घण्टा सेवामा खटिएको उहाँ बताउनुहुन्छ ।

जिल्ला अस्पताल हुम्ला सोमबारबाट सञ्चालनमा आएको र कार्यालय खुलेको पहिलो दिनमै ५० जना बिरामीको ओपिडीमा चेकजाँच तथा उपचार भएको अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले बताउनुभयो ।

अस्पताल सञ्चालनमा आय लगत्तै बिरामीलाई भर्नासमेत लिने जिल्ला अस्पतालको सूचना अधिकारी भक्त पडेराले जानकारी दिनुभयो । कोरोनाका कारण अस्पतालका सेवा बन्द हुँदा दीर्घरोगीहरू समस्यामा पर्दै आएका नागरिक समाजका अगुवा राजबहादुर रोकायाले बताउनुभयो ।

यसअघि अस्पतालले आकस्मिक सेवा, प्रसूति, कोरोना परीक्षण र खोप लगाउने कार्य सञ्चालन गरिएको भएता पनि अन्य सबै सेवा बन्द गरेको थियो ।